माहेन्द्री माविमा स्वर्ण जयन्ती स्तम्भ शिलान्यास
माहेन्द्री माविमा स्वर्ण जयन्ती स्तम्भ शिलान्यास
तनहुँ । व्यास नगरपालिका ९ गजौडे झिनुवाटरमा रहेको माहेन्द्री माध्यमिक विद्यालयले यस वर्षलाई विभिन्न कार्यक्रम गरि स्वर्ण जयन्तीको रुपमा मनाउने भएको छ । विद्यालय स्थापनाको ५०औँ वर्षमा प्रवेश गरेको अवसरमा आइतबार विद्यालयले स्वर्ण जयन्तीको प्रारम्भ पनि गरिसकेको छ ।
यसै सन्दर्भमा गरिने विभिन्न कार्यक्रम मध्ये केही कार्यक्रम सम्पन्न गर्ने जिम्मा यसै विद्यालयका विद्यार्थीहरुद्धारा गठित पूर्व विद्यार्थी समाजले लिएको छ । जसमध्ये प्रमुख काम स्वर्ण जयन्ती स्तम्भ निर्माण गर्नु हो । स्वर्ण जयन्ती स्तम्भ आइतबार विद्यालयको ५०औँ वाषिकोत्सव तथा स्वर्ण महोत्सव प्रारम्भको अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आलेले शिलायन्स गरेका छन् ।
विद्यालयमा विभिन्न समयमा अध्ययन गरेका विद्यार्थीहरुबाट आर्थिक संकलन गरि स्वर्ण जयन्ती स्तम्भ निर्माण गर्न लागिएको पूर्व विद्यार्थी समाज माहेन्द्री माविका अध्यक्ष उद्धवराज कट्टेलले जानकारी दिए । सरस्वती माताको मूर्ति सहित आकर्षक ढंगको स्मारक निर्माण गरिने बताइएको छ ।
समाजले विद्यालयको मुल प्रवेशद्धार निर्माणका लागि पनि सहयोग गर्नेछ । विद्यालयको प्रवेशद्धार साघुरो र जिर्ण भएकाले यसको पुननिर्माणका लागि पुर्व विद्यार्थी समाजले सहयोग गर्ने बताइएको छ । साथै प्रवेशद्धारको बाटोमा टायल लगाउने वा ढलान गर्ने काम पनि समाजले गर्नेछ । विद्यालयको इतिहास झल्किने गरि प्रकाशन गर्न लागिएको स्वर्ण महोत्सव स्मारिकाको सम्पुर्ण प्रकाशन खर्च पनि पुर्व विद्यार्थी समाजले गर्ने तय भएको अध्यक्ष कट्टेलले बताए । त्यस्तैगरि स्वर्ण महोत्सवको सन्दर्भमा आयोजना हुने अतिरिक्त क्रियाकलापको पुरस्कार, मेडल र प्रमाणपत्र पनि समाजले सहयोग गर्ने बताइएको छ ।
पुर्व विद्यार्थी समाजको जिम्मा पाएको सम्पुर्ण कार्य सम्पन्न गर्न करिब १० देखि १२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको समितिका उपाध्यक्ष एवम् अर्थ संकलन समितिका संयोजक भक्तबहादुर गोदारले जानकारी दिए । अहिले समाजको नाममा ग्लोबल आइएमइ बैंकमा खाता सञ्चालन गरि अर्थ संकलन भइरहेको उनले बताए । उनका अनुसार हालसम्म ८ लाख ८५ हजार ७सय ८५ रुपैयाँ संकलन भइसकेको छ भने रकम संकलन गर्ने क्रम अझै जारी रहेको छ ।
पहिलो चरणमा पुर्व विद्यार्थी समाजले स्वर्ण महोत्सवका लागि सहयोग गरेपनि यसपछीका वर्षमा सम्पुर्ण सहयोग विद्यालयको शैक्षिक गुणस्तर उकास्ने काममा केन्द्रित हुने अध्यक्ष कट्टेलले बताए ।
विद्यालयले स्वर्ण महोत्सवका लागि १सय १ जना स्वर्ण महोत्सव मूल समारोह समिति गठन गरिसकेको विद्यालयका प्राधनाध्यापक शिवशंकर आचार्यले बताए । विद्यालयका पुर्व प्रअ रामचन्द्र न्यौपानेको संयोजकत्वमा विद्यालयको अभिलेख संकलन कार्य सुरु भइसकेको छ भने अन्य तयारी पनि क्रमश भइरहेको प्रअ आचार्यले जानकारी दिए । स्वर्ण महोत्सव विद्यालयको ठुलो उत्सव भएकाले यसलाई सफल पार्न सबैले आफ्नो ठाउँबाट सहयोग गर्न पनि उनले अनुरोध गरेका छन् ।