रवि लामिछानेको म्याद फेरि थप, यो साता कास्की प्रहरीकै हिरासतमा रहने
रवि लामिछानेको म्याद फेरि थप, यो साता कास्की प्रहरीकै हिरासतमा रहने
पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ। म्याद थपका लागि आज अदालतमा पेश गरिएकामा उनलाई थप १० दिन हिरासतमा राख्ने अनुमति अदालतले दिएको हो ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि मंगलबार कास्की जिल्ला अदालत लगिएकामा अदालतले थप १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण रविलाई आज मात्र अदालत लगिएको हो । योसँगै छ दिन आज गुज्रने छ भने बुधबारदेखि चार दिनमात्र बाँकी हुनेछ ।
रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाललाई पनि म्याद थपका लागि कास्की जिल्ला अदालत पुर्याइएको थियो । उनीहरुलाई पनि १० दिन म्याद थपिएको छ ।
चार जनाकै म्याद १०-१० दिन थप भएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । मंगलबार जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।