आकाशबाट आयो सहारा: भोटेकोशी बाढीमा ११४ जना हवाई उद्धार
आकाशबाट आयो सहारा: भोटेकोशी बाढीमा ११४ जना हवाई उद्धार
भोटेकोशी बाढीमा ११४ जना हवाई उद्धार
काठमाडौं — रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीपछि प्रभावितको खोज, उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ। आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार कार्य निरन्तर जारी रहेको छ।
बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायतका तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको जानकारी प्राप्त हुनासाथ नेपाली सेनाको टोली व्यापक रूपमा घटनास्थलतर्फ परिचालन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। खोज तथा उद्धार कार्यलाई थप तीव्र बनाउन सेनाका दुई वटा हेलिकप्टर त्रिशूली बजारमा अवतरण भइसकेका छन्।
हालसम्मको प्रगतिअनुसार नेपाली सेना र निजी क्षेत्र गरी कुल ११४ जनाको हवाई उद्धार भइसकेको छ। नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन्। स्थानगत विवरणअनुसार नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट ५ जना, बेत्रावतीबाट ४ जना र त्रिशूली–काठमाडौंबाट ३ जना गरी उद्धार गरेको छ।
बाढी नेपाल प्रवेश गरेको करिब आधा घण्टापछि नै धादिङको गल्छीसम्म पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढीका कारण नेपाल टेलिकम (एनटीसी) र एनसेलका टावरमा समेत क्षति पुगेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिएकी छिन्। धादिङतर्फको उद्धारका लागि पनि नेपाली सेनाका तीनवटा हेलिकप्टर तत्काल परिचालन गरिएको छ।
घाइतेहरूको उपचारका लागि काठमाडौंका विभिन्न अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, स्काउट र लायन्सलगायतका संघसंस्थासँग समन्वय भइरहेको छ। वीर अस्पताल र ट्रमा सेन्टरमा घाइतेका लागि १०० शय्या नै छुट्याइएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि चिकित्सकीय टोलीसहित थप हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ। बाढीबाट प्रभावित तथा जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सरकारले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। थप प्रभावित हुनसक्ने क्षेत्रका नागरिकलाई पनि सुरक्षित स्थानमा जान निरन्तर सूचना प्रवाह भइरहेको सरकारले जनाएको छ।
उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन आजको दिन विशेष केन्द्रित रहनेछ, र हेलिकप्टर उद्धार अभियान बिहानैदेखि निरन्तर जारी रहेको सम्बन्धित निकायहरूले पुष्टि गरेका छन्।