Sep 17 2026 | २०८३, असोज १ गते

घरपझोङ सम्मेलनको अन्तिम दिन: घोषणापत्रले टुंगिने जलवायु आवाज

घरपझोङ सम्मेलनको अन्तिम दिन: घोषणापत्रले टुंगिने जलवायु आवाज

घोषणापत्रले टुंगिने जलवायु आवाज

बुधबार, भदौ ३१ २०८३
बुधबार, भदौ ३१ २०८३
  • घरपझोङ सम्मेलनको अन्तिम दिन: घोषणापत्रले टुंगिने जलवायु आवाज

    मुस्ताङको जोमसोममा मंगलबारदेखि सुरु भएको "घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३" आज दोस्रो तथा अन्तिम दिनमा प्रवेश गरेको छ। पहिलो दिन प्राविधिक सत्र, विषयविज्ञहरूको कार्यपत्र प्रस्तुति र विस्तृत छलफल सम्पन्न भइसकेको छ। संघीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सम्मेलनको उद्घाटन गरेकी थिइन्, जसअघि प्रमुख अतिथिसहित सातै प्रदेश र स्थानीय तहका जनप्रतिनिधि झाँकीसहित सम्मेलनस्थल कभर्डहलसम्म पुगेका थिए।

    आजको दिन देशभरका ७५३ वटै स्थानीय सरकारका प्रतिनिधि जलवायु परिवर्तनविरुद्ध एकजुट हुँदै ऐतिहासिक साझा घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ। स्थानीय तह तथा जलवायु विज्ञले पेस गरेका अवधारणापत्रलाई समावेश गरी तयार पारिने यो घोषणापत्र जारी गरेर बुधबार दिउँसो १ बजे सम्मेलन औपचारिक रूपमा समापन हुनेछ भनी गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिएका छन्।

    "स्थानीय तहको जिम्मेवारी: जलवायु न्यायका लागि साझेदारी" भन्ने मूल नाराका साथ आयोजित यस सम्मेलनमा जलवायु न्यायका लागि साझा धारणा बनाउने र स्थानीयदेखि संघीय सरकारसम्मको जिम्मेवारी तथा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने माग तय गर्ने तयारी गरिएको छ। गत भदौ १० गते हिमताल फुटेर रसुवाको भोटेकोशीमा आएको बाढीले पुर्‍याएको ठूलो जनधनको क्षतिका सन्दर्भमा मुस्ताङबाटै विश्व समुदायको ध्यानाकर्षण गर्न लागिएको अध्यक्ष लालचनको भनाइ छ।

    जलवायु संकटले पृथ्वीको तापमान वृद्धि भई कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यावरणमा पारेको जोखिमका विषय सम्मेलनमा प्राथमिकताका साथ उठाइएको छ। सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि मुस्ताङ पुगेका छन्। सम्मेलनस्थलभित्र जलवायु परिवर्तनको असर झल्काउने २८ फिट उचाइको "पृथ्वी रोइरहेको" आकृतिको बेलुन राखिएको छ भने मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार गर्न ५० भन्दा बढी स्टल पनि सजाइएको छ।

    जलवायु संकटविरुद्ध स्थानीय सरकार अब चुप नबस्ने र आफैं अघि बढ्ने अठोटसहित तयार पारिँदै गरेको यो घोषणापत्र जारी भएपछि यसलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने योजना रहेको आयोजकहरूले जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार