images

Apr 25 2024 | २०८१, वैशाख १३ गते

सेता हिमाललाई सताउँदै फोहोर, सरकारलाई शहरमै तनाव-

सेता हिमाललाई सताउँदै फोहोर, सरकारलाई शहरमै तनाव-

एभरेष्ट हेडलाइन्स
बुधबार, असार १ २०७९
एभरेष्ट हेडलाइन्स
बुधबार, असार १ २०७९
  • सेता हिमाललाई सताउँदै फोहोर, सरकारलाई शहरमै तनाव-

    काठमाडौं । कि चर्चा फोहोरको कि चर्चा फोहोर सोहोर्नेको । केही दिन संघको राजधानी काठमाडौंमा फोहोर थुप्रिंदा रडाको नै मच्चियो । फोहोरले के मात्रै गरेन । झण्डै सरकार ढालेको !

    images

    सडक, सरकार, सदन सबैतिर फोहोर कै ताण्डव । प्रधानमन्त्री समेत फोहोरको मुद्दामा हेलिए । अन्ततः बल्लतल्ल बञ्चरेडाँडा प्रभावितले माने । र, काठमाडौं उपत्यकाको फोहोर उठ्ने भयो । यो  खबर फैलिन नपाउँदै फलानो मन्त्री, मेयर, सचिवले काइदा गरे भनेर  जस लिने दिने होड चल्यो ।   

    र, यस्तो माहोल बनाइयो कि काठमाडौंको फोहोर उठ्नासाथ मुलुकले सास फेर्यो । काठमाडौंको फोहोर उठ्नु जस्तो ठूलो कुरा केही होइन भन्ने ढंगले समाचार प्रकाशित, प्रसारित भए । कोही हल्ला गर्ने र कोही हल्लाको पछि डौडिने क्रमम अझै चलिरहेको छ ।

    तर, सबै त्यसरी फाल हाल्दैनन् । केहीले चिन्ता गरे । हो, गम्भीर चिन्ता । फोहोरकै कारण गौतमवद्धको जन्मस्थल लुम्बिनी विश्व सम्पदा सूचीबाट हट्ने चिन्ता । सर्वोच्च शिखर सगरमाथासहितका सेता हिमालहरु थप जोखिममा पर्ने चिन्ता ।

    यस विषयमा घोत्लिनेहरु पनि छन् । यो मुलुकमा । तर, न्यून संख्यामा । विषय जुनै होस् । बहाना जे सुकै होस्, जलवायु परिवर्तन भन्ने शब्द उठ्नासाथ नेपालका सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी व्यक्ति तथा निकाय फोटो खिचाउनकै लागि हिमालतिर हानिन्छन् । भोलिपल्टदेखि फेरि उस्तै, छेपाराकै उखान् । यो पल्ट पनि महिला हिंसाविरुद्धको अभियानका दौरान केही महिला अधिकारकर्मी र एनजीओ तथा आईएनजीओकर्मी कालापत्थर पुगे । उपलब्धि केही थिएन, उनीहरुले फोटो खिचाए । अलिअलि फोहोर गरेर आए । 

    सन् १८५२ मा जब सगरमाथा विश्वकै सबैभन्दा अग्लो शिखर ठहर भयो, तहाँ उप्रान्त कयौं पटक सगरमाथा आरोहण भइसकेका दृष्टान्त छन् । सरकारको व्यवस्थापकीय कमजोरी र सम्बन्धित निकायले ध्यान नदिंदा सगरमाथा मात्रै होइन कयौँ रमणीय हिमालले फोहोरको भारी बोक्दै छन् । ति हिमालको अवस्थाले बताउँछ, हामी मानव कति बेइमान रहछौँ भनेर ।

    पाकिस्तानको केटु हिमालबाहेक अग्ला ७ वटा हिमाल नेपालमै विराजमान छन् । कालापत्थरदेखि कोपनहेगनसम्मको बहस सरकारले नचलाएको पनि हैन । तर, माल पाएर पनि चाल नपाउने राज्यबारे धेरै के भन्नू ।
    सगरमाथामा फोहोर कसरी आयो ?
    सगरमाथा आरोहण गरेर फर्किने आरोहीले आफ्नो फोहर मैला आफैंले बोकेर  ल्याउनुपर्ने वाध्यकारी नियमन छ । सगरमाथा चढ्न रहर गर्ने तर, आफ्नै ज्यान भारी मान्नेहरुले  त्यसको परिपालना गर्दैनन् ।
    फोहोर मात्रै बोक्नलाई कसैले छुट्टै भरिया राख्ने कुरा भएन । सरकारले सगरमाथा आधार शिविरदेखि माथिका भू–भागको अनुगमन गर्न नसक्दा नियमको पालना नभएको र फोहोर थुप्रिने गरेको जानकारहरु बताउँछन् ।

    आरोहणकाक्रममा उनीहरूले गर्ने दिसापिसाब र प्रयोग गरेर फ्याँक्ने सामग्रीले सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्म फोहोर थुप्रिने गरेको छ । सगरमाथाको फोहोर उठाएर चर्चा कमाउनेहरुको पनि कमी छैन । कहिले कहाँ चर्चामा आउन स्वयंसेवी बनेर फोहोर उठाउने गतिविधि नभएका पनि होइनन् । खासमा नेपाली सेनाले नै सगरमाथाको फोहोर उठाइरहेको छ । तर, कति प्रगति भयो भन्ने यकिन तथ्याङ्क सेनाले पनि दिएको छैन ।

    नियम
    आरोणदलले सगरमाथा आरोहण गर्दा फोहोरमैला व्यवस्थान आफैले गर्नुपर्छ । आरोहण गर्नुअघि ४ सय डलर धरौटी तिर्नुपर्छ । प्रत्येक आरोहण गर्ने व्यक्तिले सफल आरोहण प्रश्चात ८ किलो फोहोर आधार शिविरसम्म ल्याउनु पर्ने भनिएको छ । तर फोहोर ल्याए वा नल्याएको अनुगमन गर्ने सरकारी टोली नै सरकारले खटाउन सकेको छैन । आरोहण दलसँगै जाने सरकारी सम्पर्क अधिकृतलाई नै फोहोरको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।

    तर, ती अधिकारीले औपचारिकता मात्रै निभाउछन् । अहिले सगरमाथा आधार शिविरदेखि तलको फोहर सङ्कलन गर्ने जिम्मा गैरसरकारी संस्था सगरमाथा प्रदूषण नियन्त्रण समितिले गर्दै आएको छ । तर, आधार शिविर भन्दामाथिको सफाइमा सरकारको ध्यान पुगेको छैन ।  

    फितलो सरकारी संयन्त्र
    सगरमाथा क्षेत्रमा अहिले समेत टनकाटन फोहोर थुप्रिएको हुनसक्ने नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तविर लामाले बताए । सगरमाथाको फोहोर व्यवस्थापनमा सरकारले सही संयन्त्र प्रयोग गर्न सकेको छैन ।

    प्रत्येक वर्ष सगरमाथाबाट करोडौं रोयल्टी उठ्छ, त्यो पैसा कहाँ जान्छ ? लामाले प्रश्न गरे । विगत ३ वर्षदेखि सगरमाथा सरसफाइको जिम्मा नेपाली सेनाले पाएको छ । तर, सेनाले हालसम्म प्रगति भएको पूरा विवरण दिएको छैन ।

    सेनाले फोहोर व्यवस्थानमा सगरमाथासम्बन्धी जानकार भएका नागरिकलाई नै प्रयोग गर्ने गरेको लामा बताउँछन् । सरकारले पछिल्लो समयम आरोहण दललाई रोयल्टी र डिपोजिट लिने गरेको छ ।

    त्यसो गर्दा पनि सगरमाथाको फोहोर व्यवस्थापनमा सुधार आएको छैन । सन् २०१७ देखि सगरमाथामा दैनिक उडान गर्दै आएको एक निजी वायुसेवा र स्थानीय साझेदारको सक्रियतामा सगरमाथा क्षेत्रबाट वर्षमा १०० टन फोहर काठमाडौं ल्याउने गुरुयोजना बनेको छ ।

    तर, त्यो योजना अहिले पनि अलपत्र अवस्थामा छ । सेनाले औपचारिकता निभाउन अलिअलि फोहोर उठाएर ल्याउने गरिरहेको छ । अहिलेसम्म सगरमाथाको फोहोरको मात्रै कुरा आइरहेको छ, अन्य हिमालको फोहोरबारे कसैले कुरा गरेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट