images

Apr 25 2024 | २०८१, वैशाख १३ गते

जंगबहादुरदेखि शेरबहादुरसम्म : कहाँ थियो, कता गइरहेछ मुलुक ?

जंगबहादुरदेखि शेरबहादुरसम्म : कहाँ थियो, कता गइरहेछ मुलुक ?

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ७ २०७९
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ७ २०७९
  • जंगबहादुरदेखि शेरबहादुरसम्म : कहाँ थियो, कता गइरहेछ मुलुक ?

    काठमाडौं । जंगबहादुरको नाम नसुन्ने सायदै होलान् । तर, उनको जन्मजयन्ती सबैलाई याद नहुनसक्छ । राणा परिवारको वंश विरासत थामिरहेकालाई चाहिँ सम्झना हुँदो रहेछ । जंगबहादुरका सन्ततिले उनको २०६औं जन्मजन्ती मनाएका छन् । उनकै जन्मजयन्तीको मेसो पारेर हामीले ति जंगबहादुर र यि शेरबहादुर अर्थात् वर्तमान प्रधानमन्त्रीसम्म समीक्षा गर्न खोजेका छौँ ।

    images

    अंकगणितीय नम्बर (मुख्तियारसहित) अनुसार जंगबहादुर १०औँ प्रधानमन्त्री हुन् । प्रथम त नेपालमा कसलाई प्रधानमन्त्री मान्ने र कसलाई नमान्ने लिपिवद्ध इतिहास छैन । २०७४ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पाँचजना मुख्तियार (भीमसेन थापा, पण्डित रंगनाथ पौड्याल, पुष्कर शाह, रणजंग पाण्डे र फत्यजंग शाह)लाई प्रधानमन्त्री मानेपछि विवाद झन् बढ्यो । दुई सय वर्ष बढी पूरानो इतिहास हेर्दा नेपालमा ३८ जना व्यक्ति ६३ औँ प्रधानमन्त्री बनेका छन्।

    भीमसेन थापा यताका मुख्तियारलाई प्रधानमन्त्री मान्ने र दोहोरिएकालाई पनि गणना गर्ने हो, भने शेरबहादुर ६३औं प्रधानमन्त्री हुन्। मुख्तियार प्रधानमन्त्री नमान्ने हो भने देउवा ३९औं प्रधानमन्त्री हुन्। जंगबहादुरदेखि शेरबहादुरसम्म आइपुग्दा मुलुक भद्रगोल हुन पुगेको छ । जंगबहादुर साँच्चिकै बाघ थिए भने शेरबहादुर पेपर टाइगर । राणा शासनसँग जोडेर जंगबहादुरलाई प्रजातन्त्रवादीहरुले फैलाउनु घृणा तथा द्वेष फैलाएका छन् । हुँदै जाँदा उनै राणा शासकहरुले बनाउन लगाएका दरबारमा घुसेर ‘शेरबहादुरहरु’(बहुदलीय हुल)ले जंगबहादुरले छोडेर गएको ऐतिहासिक सम्पति (मुलुकी ऐन, २०२० नवौं संशोधन)समेत ध्वस्त पारिदिए । विदेशी सहयोगमा मुलुकी ऐन विस्थापित गरेर मुलुकी संहिता स्थापित गरियो ।

    सर्वाधिक घृणायोग्य पात्र मानिएको छ, चन्द्रशेखर उपाध्याय दाहाललाई । कसैले पुष्पकमल दाहाल  र बाबुराम भट्टराई त कतिपयले गिरिजाप्रसाद कोइरालालाई सर्वाधिक घृणायोग्य पात्र भनेका छन् । त्यो सूचीमा अब केपी शर्मा ओली र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा समेत पर्ने देखिएका छन् । हुँदै जाँदा यो सूची बढ्दै पनि जाला ।

    चन्द्रशेखर पहिलो सुगौली सन्धि गरेर नेपालीलाई जीवनभर धोखा दिएर गएकाले घृणित छन् । प्रचण्ड आन्तरिक एकता, सद्भाव र अनुशासन तोडी देश विघटनको जग हालेर राष्ट्रलाई धोखा दिएको रुपमा कलंकित छन् । खिलराज रेग्मीजस्ता सामान्य कर्मचारी समेत देशको प्रमुख कार्यकारी हुने जग खडा गर्न  हजारौं निर्दोष नेपालीको आमहत्या गरेको आरोप प्रचण्ड अहिले पनि खेपिरहेका छन् । दुई पटक मुलुकको कार्यकारी भएर पनि उनले त्यो पाप पखाल्न सकेनन् ।

    शेरबहादुर पाँच पटक प्रधानमन्त्री भएका छन् । उनले पनि आफ्नो निधारमा लागेको कलंकको टिका हटाउन सकेका छैनन् । महाकाली सन्धिदेखि पञ्चेश्वरसम्म आइपुग्दा उनले पाँच पल्ट कार्यकारीको जागिर खाए, कलंकको टिको मेटाउन सकेनन् । उल्टै महँगीको भुंग्रोमा नागरिकलाई डढाइरहेका छन् । महाकाली सन्धिको फड्के साक्षी केपी शर्मा ओली समेत दुई पल्ट प्रधानमन्त्री भइसके । हावादारी गफ दिँदै हिँड्ने उनी झण्डै प्रजातन्त्र नै सिध्याउन आँटेका थिए । तै विसेक मुलुक पशुपतिनाथको कृपाले घिस्रिरहेको छ ।

    यसरी समीक्षा गर्दै जाँदा सर्वाधिक आलोचित व्यक्ति को भन्दा, सबैले सोझै भन्छन्–श्री ३ महाराज जंगबहादुर राणा । २००७ सालदेखि यताका झण्डै ८ दशकभित्र स्थायीरुपमा र सर्वाधिक आलोचित हुने व्यक्ति हुन्, जंगबहादुर राणा नै । उनलाई के–के भनिएन ? तानाशाह, निरंकुश, हत्यारा, षड्यन्त्रकारी, स्वार्थी, परिवारवादी, अविवेकी, विदेशी दलाल, अहंकारी, राष्ट्रिय स्वाभिमानलाई ब्रिटिशको पाउमा सुम्पने, अवसरवादी यस्ता अनेकौं शब्दले चिनाइन्छ, उनलाई । तर, इतिहासमा सर्वाधिक आलोचित व्यक्ति जंगबहादुरले देशका लागि के गरेका थिए ? र प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता, धर्मनिरपेक्षता, समानुपातिक–समावेशिताका पक्षधर आधुनिक एवम् प्रगतिशील नेताहरुले के लछारे ? भनेर बुँदागत समीक्षा पनि हामीले गरेका छौँ ।

    ३० वर्षे शासनकालमा जंगबहादुरले गरेका काम
    –दरबारभित्र निरन्तर चलिरहने षड्यन्त्र तथा सत्ता संघर्षलाई शिथिल तुल्याउँदै राजनीतिक स्थिरता पैदा ।
    –बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका रुपमा चिनिने पहिले गुमेको तराईका भू–भाग सन् १८६० मा कूटनीतिक कौशलले फिर्ता ।
    –नेपाली सेनाको आधुनीकरण ।
    –देशमा पहिलो पटक छापाखाना प्रयोगमा ल्याए । जुन गिद्दे प्रेसका रुपमा इतिहासमा अंकित छ ।
    –देशमा पहिलो पटक (विक्रम संवत १९१७) जनगणनाको सुरुवात, पहिलो जनगणनाअनुसार देशको जनसंख्या बाउन्न लाख ।
    –सन् १८६२ देखि पहिलो पटक देशमा नापीको काम सुरु ।
    –विक्रम सम्बत् १९२० देखि जन्म र मृत्यु (पञ्जीकरण)को दर्ता गराई तथ्यांक राख्ने कार्यको थालनी ।
    –काठमाडौं उपत्यकाभित्र रहेका रेसिडेन्ट (विभिन्न देशका आवासीय दूत)हरुलाई स्वेच्छापूर्वक घुम्न र नेपालीहरुलाई रेसिडेन्टभित्र प्रवेश गर्न सरकारी अनुमति अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था (विक्रम संवत १९२१)
    –जमिनको मालपोत उठाउन मुखिया र चौधरीहरुको व्यवस्था गर्नुका साथै मालपोत नतिरी उपभोग गरिएका जमिन जमिनदारहरुबाट खोसी सुकुम्बासीलाई दिने काम । (तर, अहिले प्रधानमन्त्रीको निवास बालुवाटारकै सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता)
    –विक्रम संवत १९२२ मा तिब्बततर्फ जाने बाटोका साथै नेपाल अधिराज्यको सर्भे गरी नक्सा बनाउने काम ।
    –जनतालाई समयबारे जानकारी गराउन टुँडिखेलमा तोप पड्काएर आवाज सुनाउने कार्यारम्भ ।
    –आफैं अनपढ, तर काठमाडौंको पुस्तकालयलाई समृद्ध बनाउन अंग्रेजी र भारतीय पुस्तकहरु किनेर ल्याउन बजेट व्यवस्था ।
    –पहिलोपल्ट लेडिज कोर्टको स्थापना गरी महिलाका निम्ति बेग्लै मञ्च खडा गरिदिएको तर यसले निरन्तरता पाउन सकेन ।
    –युरोपियन शैलीका अत्याधुनिक र भव्य महलहरु निर्माण गरी देशको सान बढाउने काम । (अहिले पनि अधिकांश प्रशासनिक भवन राणाकालीन)
    –हाल दलित भनिने कोचेमेचे र साल्मीहरुको हातबाट पानी पिई छुवाछुत हटाउने प्रयत्न ।  (अहिले रुकुम हत्याकाण्डमा पनि क्रान्तिकारी जनार्दनहरु नबोल्नू)
    –व्यवस्थित रुपमा शिक्षा दिनका निम्ति दरबार परिसरमै भए पनि विद्यालय स्थापना । नेपालको पहिलो स्कुलका रुपमा चिनिने दरबार हाइस्कुलको स्थापना जंगबहादुरबाटै ।
    –जनताले भोकभोकै मर्नु नपरोस् भनी देशका विभिन्न स्थानमा धर्मभकारी खडा गरी अन्न संग्रह । संकटकालमा खर्च गर्नको निम्ति तोषखाना खडा गरी सुरुमै ११ करोड रुपैयाँ ढुकुटीमा राखियो । र, रकम थप गर्दै जाने व्यवस्था गरियो ।
    –नेपालमै तोप कारखाना स्थापना ।
    –देशको अन्तर्राष्ट्रिय सीमा छुट्याउन सन् १८६० को अक्टोबरदेखि एक–एक माइलमा सीमास्तम्भ राख्ने कार्यारम्भ । जसलाई जंगेपिलरका रुपमा अहिले पनि चिनिन्छ ।
    –वन संरक्षणका लागि काठमाल अड्डा खोली रुख काट्नेहरुलाई सजाय दिने व्यवस्था ।
    –बोक्सीको आरोप लगाउनेहरुलाई दण्ड सजाय दिने व्यवस्था । अहिलेका सासकले जघन्य अपराधमा पनि सजाय गर्न सकेका छैनन् ।  
    –विफरविरुद्ध खोप लगाउने अभियानको प्रारम्भ ।
    –नेपाल बैंक लिमिटेडको मुख्यालय रहेको स्थानमा संसद् भवन निर्माण गराई राष्ट्रहीत र राजनीतिका विषयमा बहस, छलफल एवम् परामर्श गर्ने चलनको सुरुवात।
    –नेपालमा नपाइने जडीबुटीका विरुवा अफगानिस्तानको काबुलदेखि दार्जिलिङसम्मबाट झिकाई नागार्जुन र गोकर्णलगायतका वनजंगलमा लगाउने काम । (अहिले अरबौको औषधि आयात । छिमेकी मुलुक मात्र नभइ मलेसियासम्मबाट काठ आयात) ।
    –विक्रम संवत १९२४ मा तराईमा भीषण अनिकाल परी जनताले खान नपाएपछि तत्काल तीन लाख रुपैयाँको अन्न भारतबाट आयात गरी सुपथ मूल्यमा विक्री वितरणको व्यवस्था । त्यस वर्षको मालपोत पनि माफी । (अहिले किसानले बाली लगाउँदा मल पाउँदैनन्, बाली उत्पादनपछि मोल । विपद पीडितको गाँस, बासको टुंगो हुन्न) ।  
    –पूर्व मेचीदेखि पश्चिम डोटीसम्म फराकिलो बाटो (बग्गी हिँड्न मिल्ने गरी)बनाउन र बाटोको दुवैतर्फ रुख लगाउनका लागि विक्रम संवत १९०६ मा तीन लाख रुपैयाँ निकासा । त्यसबेला मोटरकारको आविष्कार भइसकेको थिएन, तथापि राजमार्ग निर्माणको थालनी । (पछि शाही तथा मण्डले कालमा राज्यको रकमबाट एक किलोमिटर बाटो र एक मेगावाट विजुली उत्पादन भएन) ।
    –युरोपलगायतका देशहरुको भ्रमण गरी नेपाललाई इन्टरनेशनल एक्स्पोजर दिने काम ।
    –मुलुकी ऐन बनाएर कानूनअनुरुप राज्य सञ्जाल गर्न सुरु ।
    –राष्ट्रिय स्वार्थ र सार्वभौमिकताको रक्षा तथा सम्मानको निमित्त ब्रिटिश भारतसँगको मित्रता सुदृढ तुल्याउने र तिब्बतसित लडाई। तिब्बतीयनले नेपालीलाई कुटपिट गरी लुट्ने र हत्यासमेत गर्ने गरेककोेमा नेपालीको रक्षाका निम्ति सन् १८५४ मा तिब्बतसँग लडाई लड्नु परेको ।

    आधुनिक क्रान्तिकारीहरुको अग्रगामी छलाङको मूल्याङ्कन
    –राजसंस्था विस्थापित, गणतन्त्र घोषणा । अहिले त्यही गणतन्त्र घाँडो ।
    –८२ प्रतिशत सनातनी हिन्दूसहित करिब ९४ प्रतिशत ओमकार परिवार भएको मुलुक कसैलाई सोध्दै नसोधी धर्मनिरपेक्ष घोषित।
    – संविधान बनाउन दुई पल्ट निर्वाचन । जारी गर्दा धारा–धारामा मतदान।
    –एकात्मक अभ्यासमा चलिरहेको मुलुकलाई संघीय संरचना लैजाने व्यवस्था  ।
    –एक दशकभित्रै ९ जना (त्यो पनि दोहोर्‍याएर)को प्रधानमन्त्री बन्ने रहर पूरा ।
    –जातिय तथा क्षेत्रीय एकता र सद्भावलाई विथोली देशको सार्वभौमिकतासमेत खण्डित गर्ने वैधानिक आधार तयार ।
    –राज्यका सबै महत्वपूर्ण निकायमा योग्य, क्षमतावान र इमानदारलाई उपेक्षा गर्दै भागबन्डाका आधारमा राजनीतिक नियुक्ति ।
    –न्यायालयलाई कार्यपालिकाको दख्खल । राजनीतिक दल निकटस्थलाई न्यायमूर्तिको कुर्सी ।  
    –पहिले मित्रराष्ट्र भारतसँग आर्थिक निर्भरता मात्र रहेकोमा पछिल्लो दशकमा राजनीतिक निर्भरता समेत संस्थागत ।
    –मित्रराष्ट्रहरुको सहयोगमा स्थापना भएका कलकारखाना सिध्याइनु, नयाँ उद्योग खुल्ने वातावरण बनाउन नसक्नु र औद्योगीकरण हुन नदिने वातावरण सिर्जना गर्नु ।
    –मुलुकको बागडोर तथा राष्ट्रिय गौरवको सिंहदरबारभित्र जथाभावी घर निर्माण गरेर प्रदूषण बढाउँदै दरिद्र र असभ्य मानसिक चेतनास्तर प्रस्तुत
    –पहिले भए गरेका विकास निर्माणलाई बेवास्ता । आफ्नै ढिपी ।
    –राष्ट्रिय विपत्तिमा अधिक गैरजिम्मेवारी र पूर्ण लापरवाही ।
    –सत्तामुखि संस्कार र सुशासनको तेजोवध ।

    यसरी जंगबहादुर राणाले ३० वर्षे शासनकालमा कम्तीमा २९ वटा राम्रा काम गरेको इतिहास भेटियो । तर, जंगबहादुरलाई धारेहात लगाएर प्रजातन्त्रवादी, उदारवादी, समाजवादी टोप्लिने विक्रमटेम्पोको धुँवासँग पनि दाँज्न नमिल्नेहरुको असली अनुहार अझै चिन्न सकिएन ।

    हिजो विदेशीलाई धान बेच्नेको हालत
    धेरैलाई पत्यार नलाग्न सक्छ। १५–२० वर्षअघि मात्रै पनि नेपालबाट धान–चामल विदेश जान्थ्यो। सरकारी स्वामित्वको ‘नेपाल धान–चामल निर्यात कम्पनी’ थियो, मुलुकमा । र, यहि नेपाल सरकार हो, स्वदेशभित्र कति चाहिन्छ निर्क्यौल गरी बचेको धान–चामल  भारत, बंगलादेशदेखि अमेरिकासम्म निर्यात गर्ने । अहिले त्यो कम्पनीको अवशेष नै बाँकी छैन।

    देशलाई चाहिनेभन्दा धेरै धान फलाउने मुलुक त्यसको ठीक उल्टो अहिले विदेशबाट अर्बौंको चामल आयात गर्छ । र, पनि खान पुग्दैन। २०४७ कात्तिक २४ गते एमालेका तत्कालीन महासचिव मदन भण्डारीले काठमाडौंको खुलामञ्चमा भाषण गर्दा भनेका थिए, ‘सिद्धान्तले चिउरा भिज्दैन। चिउरा भिज्न त दही, मोही वा पानी भए पनि चाहिन्छ।’ तर, अहिले न सजिलै चिउरा पाउँछ । न दही, न मोही । पानी त विदेशी प्रयोग गर्छन्, प्रधानमन्त्री । बालुवाटारमा विदेशी पानी भनेर कयौँ पल्ट समाचार आइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट