images

Jul 27 2024 | २०८१, साउन १२ गते

विदेशबाट आउनेका लागि विमानस्थलमा स्वघोषणा कक्ष, यस्ता छन् सुविधा !

विदेशबाट आउनेका लागि विमानस्थलमा स्वघोषणा कक्ष, यस्ता छन् सुविधा !

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • विदेशबाट आउनेका लागि विमानस्थलमा स्वघोषणा कक्ष, यस्ता छन् सुविधा !

    त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालबस्तुको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ । स्वघोषणा कक्ष सञ्चालनपछि यात्रुले आफूसँग भएको मालबस्तुको स्वयं घोषणा गर्न पाउने तथा बढी भएको सामानको भन्सार महसुल बुझाई सजिलै लैजान पाउने छन् ।

    images

    विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार जाँच एक्सरे मेशिनमा पुग्नुअगावै स्वयं घोषणाको सुविधा पाउने कार्यालयले जनाएको छ । 
    विदेशबाट फर्किएका यात्रुले मापदन्डभन्दा बढी सुनका गरगहना, विदेशी मुद्रा, टीभी तथा मोबाइल फोन ल्याउने र स्वघोषणा नगरी बाहिरिँदा भन्सार छलीअनुसार कारवाहीको भागिदार हुने गरेका थिए ।
     
    त्यसका लागि भन्सार कार्यालयले नियमित कर्मचारीसहित स्वयं घोषणा कक्षको व्यवस्था गरेको छ । यसअघि त्यस्तो कक्ष नहुदा यात्रुहरू मापदन्ड भन्दा वढि मालबस्तु लिएर जाने र भन्सार तथा प्रहरीको कारवाहीमा परी त्यस्तो मालवस्तुको दोब्बर मूल्य बराबर  धरौटी र जरिवाना तथा थुनामा समेत पुग्ने गरेका थिए ।  

    विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजन सम्बन्धी पछिल्लो व्यवस्था अनुसार महिलाको हकमा ५० ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । यसैगरी पुरुषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन ।  

    एकजना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामबाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउँने व्यवस्था रहेको छ । विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेका अनुसार गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिकी जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानूनी व्यवस्था रहेको छ।

    यसैगरी मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरूले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानूनी व्यवस्था रहेको प्रमुख पाण्डेले बताए ।  यस्तो थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नु पर्ने उनले बताए ।

    श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था छ । 

    तर, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था रहेको छ । 

    यसैगरी ५ हजार अमेरीकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ । रकम घोषणाको भने कुनै महसुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार