images

Jul 27 2024 | २०८१, साउन १२ गते

प्याजमा कालोबजारी, उपभाेक्ता मारमा

प्याजमा कालोबजारी, उपभाेक्ता मारमा

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
  • प्याजमा कालोबजारी,  उपभाेक्ता मारमा

    काठमाडौं । भारतले प्याजको निर्यातमा भन्सार बढाएपछि नेपाली बजारमा प्याजमा कालोबजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ । एक दिनमै प्याजको मूल्य प्रतिकिलो रु २० सम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनबाट देखिएको छ । 

    images

    भारतले निर्यातमा कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमा चर्को मूल्यवृद्धि भएपछि वाणिज्य विभागले अनुगमन थालेको छ ।

    विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरका अनुसार सोमवार विभागले तीनओटा अनुगमन टोली खटाएर कालीमाटी, बल्खु, एकान्तकुनालगायत प्रमुख तरकारी बजार र खुद्रा पसलमा अनुगमन गरेको छ । भारतले भन्सार बढाएको बहानामा व्यापारीले पहिल्यै आयात गरिसकेको प्याजमासमेत मूल्य बढाएर कालोबजारी गरेपछि अनुगमन गरिएको र केही व्यापारीलाई कारबाहीसमेत भएको उनले जानकारी दिए । 

    ‘प्याजमा कालोबजारी र चर्को मूल्यवृद्धिको सूचना पाउनेबित्तिकै विभागले आज दिनभरि तीनओटा टोली परिचालन गरेर बजार मूल्य अनुगमन गरेको छ । तीनओटा व्यापारीलाई जनही रू २० हजार र दुईओटा व्यापारीलाई जनही रू ५० हजारका दरले कारबाही गरिएको छ भने चारओटा आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग भएको छ,’ महानिर्देशक ठाकुरले भने । 

    काटीमाटी फलफूल तथा तरकारी बजारमा आइतवार प्रतिकिलो रू ६० का दरले विक्री भइरहेको प्याज सोमवार प्रतिकिलो रू २० सम्म बढेर रू ८० पुगेको थियो । तर विभागले अनुगमन गरेपछि आज कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो रू १० ले घटेको उनको भनाइ छ ।

    वाणिज्य विभागले गर्ने नियमित अनुगमन सोमवार प्याजको मूल्य वृद्धिमा केन्द्रित भएर गरिएको थियो । उपत्यकाका विभिन्न २१ स्थानमा भएको अनुगमनमा पाँचओटालाई तत्काल कारबाही, चारओटालाई थप अनुसन्धानका लागि कागजात माग, एउटालाई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन र बाँकीलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ । 

    फरक मूल्य राखेर भ्याट बिल बनाएको तथा आयातकर्ता व्यापारीले खुद्रा व्यापारीलाई विक्री गरेको मूल्यबारे विभागले विस्तृत अध्ययन गरिरहेको पनि महानिर्देशक ठाकुरले जानकारी दिए । 

    भारतको वित्त मन्त्रालयले शनिवार प्याजको निर्यातमा ४० प्रतिशतसम्म भन्सार कर बढाउने निर्णय गरेको थियो । भारतको आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि भन्सार कर बढाइएको भारतीय वित्त मन्त्रालयले जनाएको छ । आगामी डिसेम्बर ३१ सम्म यस्तो कर लाग्नेछ ।

    यसअघि भारतले बासमतीबाहेकका चामल निर्यातमा बन्देज लगाएपछि चामलमा पनि कालोबजारी बढेको थियो । वाणिज्य विभागको अनुगमन पछि केही हदसम्म मूल्य वृद्धि नियन्त्रण भएको महानिर्देशक ठाकुरको भनाइ छ । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार