images

Jul 27 2024 | २०८१, साउन १२ गते

विश्वकप क्रिकेट लिग दुई : नेपाल नामिबियासँग पराजित

विश्वकप क्रिकेट लिग दुई : नेपाल नामिबियासँग पराजित

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ९ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ९ २०८०
  • विश्वकप क्रिकेट लिग दुई : नेपाल नामिबियासँग पराजित

    काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको छ । 

    images

    नेपालले जितको लागि दिएको एक सय ६९ रनको मध्यम लक्ष्य नामिबियाले ४० ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य पूरा ग-यो । नामिबियाको जितमा जेराल्ड एरास्मसले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ५७ बल खेल्दै आठ चौका र दुई छक्काको सहायताले सर्वाधिक ५२ रनको योगदान गरेका हुन् । 

    त्यसैगरी जेजे स्मिथले अविजित ३४ रन बनाउँदा माइकल भान लिंगेनले ३१ रन बनाए । त्यस्तै रुबेन ट्रम्पलम्यानले १६ रन बनाए भने बर्नार्ड स्कोलज र निको डाभिनले समान आठ आठ रन जोडे । 

    बलिङतर्फ नेपालका कुशल भुर्तेलले तीन विकेट लिए भने कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, ललित राजबंशी र कुशल मल्लले समान एक एक विकेट लिए । 

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७ दशमलव १ ओभरमै सबै विकेट गुमाएर एक सय ६८ रनको योगफल बनाएको थियो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रनको योगदान दिए । उनले ६४ बलमा आठ चौका र एक छक्काको मद्दतमा ५८ रनको योगदान दिएका हुन । 

    त्यस्तै कुशल मल्ल ३८, भीम सार्की २६, कुशल भुर्तेल १८ तथा करण केसीले १२ रन बनाए । त्यस्तै नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल रनको खाता नै नखोली आउट भए । बलिङतर्फ नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि–इटनले समान चार चार विकेट लिए भने ज्याक ब्रेसल र जेराल्ड एरास्मसले समान एक/एक विकेट लिए ।

    नेपालको नामिबियासँगको यो दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । त्यसपछि नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्समाथि ९ विकेटको जित हात पारेको थियो । यस जितसँगै नामिबियाले चार अङ्क जोडेको छ भने नेपालको दुई अङ्क छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार