फेवातालमा कार खस्दा दुई जनाको मृत्यु
फेवातालमा कार खस्दा दुई जनाको मृत्यु
पोखरा, १९ भदौ (४ सेप्टेम्बर) —
पोखरा महानगरपालिका–१८ स्थित गैह्रीचौतारा घुम्तीमा शुक्रबार भारतीय नम्बर प्लेट दर्ता भएको एउटा कार अनियन्त्रित भई फेवातालमा खसेको घटनामा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको उक्त कार गैह्रीचौतारा घुम्तीमा पुग्दा चालकले नियन्त्रण गुमाएपछि सिधै तालमा खसेको हो। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी तत्काल घटनास्थल पुगी उद्धार कार्य सुरु गरेका थिए। सशस्त्र प्रहरी बलको फेवा वाच एन्ड रेस्क्यु टावरमा खटिएका गोताखोर टोलीले तालबाट कार तथा भित्र रहेका व्यक्तिहरूलाई उद्धार गर्ने प्रयास गरेको जनाइएको छ।
घटनामा परी दुई जनाको मृत्यु भएको प्रहरीले प्रारम्भिक रूपमा पुष्टि गरेको छ, यद्यपि मृतकहरूको नामथर, उमेश र पहिचानसम्बन्धी विवरण अझै सार्वजनिक हुन बाँकी छ। दुर्घटनामा परेको कार क्रेनको सहायताले तालबाट बाहिर निकालिने र थप अनुसन्धानका लागि सम्बन्धित वडा प्रहरी कार्यालयमा लगिने प्रहरी स्रोतले जनाएको छ।
दुर्घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ। गैह्रीचौतारा क्षेत्र पर्यटकीय गतिविधिका लागि चहलपहल हुने भएकाले यस्ता दुर्घटना रोक्न सवारी गति नियन्त्रण र सुरक्षा अवरोधसम्बन्धी व्यवस्था थप गर्नुपर्ने माग स्थानीयबाट उठ्न थालेको छ।