images

May 17 2024 | २०८१, जेठ ४ गते

राजधानीको यातायात व्यवस्थापन गर्न परिषद्को पहिलो बैठक

राजधानीको यातायात व्यवस्थापन गर्न परिषद्को पहिलो बैठक

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २८ २०८०
  • राजधानीको यातायात व्यवस्थापन गर्न परिषद्को पहिलो बैठक

    काठमाडौँ । संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको कार्य क्षेत्रमा पर्ने यातायात व्यवस्थापनसँग सम्बन्धित कुनै निर्णय गर्नुअघि प्राधिकरणसँग समन्वयका लागि अनुरोध गर्ने, संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात परिषद् बैठकले निर्णय गरेको छ ।

    images
    images

    आज बिहीबार परिषद् अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकका अध्यक्ष एवं महानगरपालिकाका प्रमुख बालेन शाहले परिषदले आफ्नो क्षेत्रभित्रको काम थालेको बताए । ‘यसअघि नेपाल सरकार, प्रदेश सरकार वा यातायात क्षेत्रको नियमन, व्यवस्थापन गर्ने कार्यालयहरूले सञ्चालन गरेका वा निर्णय गरेका कामलाई सार्वजनिक लाभ र दिगोपनाको विश्लेषण गरेर नियमित सञ्चालन गरिनेछ । विगतमा गरिएका नीतिगत निर्णयको कार्यान्वयन र कार्यान्वयन भएका नीतिको नतिजालाई कार्यक्रम सञ्चालनको आधार बनाउन सकिन्छ,’ बालेनले भने, ‘ऐनले प्रदान गरेका अधिकारमध्ये ९० प्रतिशत काम पालिकाहरूले नियमित प्रक्रियाबाटै सञ्चालन गर्न सक्नेछन् । यसका लागि थप बजेट पनि चाहिँदैन । यसमा अधिकारको कुराभन्दा पनि कर्तव्यको कुरा आउँछ । धेरै कामहरू पालिका आफैंले सञ्चालन गर्न सक्ने खालका छन् ।’

    बैठकले प्राधिकरणको कोष सञ्चालन सम्बन्धमा छलफल गर्दै नेपाल सरकारले यातायात व्यवस्थापनका लागि यसअघि गर्दै आएको खर्च कोषमा जम्मा हुने प्रणाली विकास गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । नेपाल सरकारले बनाउने प्राधिकरणको नियमावलीका व्यवस्थामाथि प्राधिकरणका तर्फबाट सुझाव पेश गर्ने विषयमा बैठकले छलफल गरेको छ ।

    प्राधिकरणका काम, कर्तव्य र अधिकारका विषयमा छलफल गर्दै, स्रोत, साधन र सामथ्र्यका आधारमा तत्काल गर्न सकिने कामका विषयमा सम्बद्ध पक्षसँग छलफल गरेर आउँदो बैठकमा कार्ययोजना पेश गर्ने निर्णय भएको छ ।

    बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख एवं परिषद् उपाध्यक्ष चिरीबाबु महर्जनले यातायात क्षेत्रको व्यवस्थापन गर्ने काममा दोहोरोपना रहेको बताए । उनले भने, ‘प्राधिकरण र परिषद्ले यस्ता दोहोरोपनालाई हटाउनुपर्छ ।’ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतीले प्राधिकरणलाई गतिशील बनाउन पूर्व तयारीलाई बलियो बनाउनुपर्ने सुझाव राखे ।

    यातायात क्षेत्रको व्यवस्थापनका लागि धेरै अड्डा भएकाले अहिलेसम्म उचित व्यवस्थापन हुन नसकेको धारणा राख्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले वन क्लिक कमाण्ड’ आवश्यक रहेको र यो आवश्यकता परिषद्बाट पूरा हुने अपेक्षा गरे । संघीय राजधानीको यातायात व्यवस्थापनका लागि प्राधिकरण, परिषद्ले काम थाल्दा कसैको क्षेत्राधिकार नमिचिने अधिकारीको भनाइ थियो ।

    परिषद्का प्रमुख कार्यकारी अधिकृत खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गरिनेछ । यो प्रक्रिया पूरा नहुँदासम्मका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कुवेर नेपालीलाई नियुक्त गरिएको छ । बैठकमा प्राधिकरण र परिषद् सम्बन्धी कानूनी व्यवस्थाका विषयमा नेपालीले प्रस्तुतीकरण गरेका थिए । उनका अनुसार शहरी क्षेत्रमा सार्वजनिक यातायात क्षेत्रलाई सहज, पहुँचयोग्य, यात्रुमैत्री, विश्वसनीय, लागतप्रभावी र सुरक्षित बनाउने उद्देश्यले ऐन जारी गरिएको हो । यसलाई प्रभावकारी कार्यान्वयन गर्न काम थालि सकिएको छ । यसका लागि काठमाडौं महानगरपालिकाले केन्द्रीय कार्यालय सञ्चालन भएको काठमाडौं प्लाजामा कार्यालय स्थान उपलब्ध गराएको छ ।

    काठमाडौं महानगरपालिकाले प्राधिकरणका लागि १ करोड रुपैयाँ रकम विनियोजना गरेको छ । परिषद् बैठकमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी, सूर्य बिनायक नगरपालिकाकी उपप्रमुख सरिता भट्टराई, चन्द्रागिरी नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपप्रमुख शुशिला अधिकारी उपस्थित थिए ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, सडक विभागका महानिर्देशक शुशिलबाबु ढकाल, यातायात व्यवस्था कार्यालयका महानिर्देशक उद्धवप्रसाद रिजाल सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट