Aug 09 2026 | २०८३, साउन २४ गते

माडी राम मन्दिर घुमेपछि प्रधानमन्त्रीलाई चिठी

माडी राम मन्दिर घुमेपछि प्रधानमन्त्रीलाई चिठी

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १ २०८२
  • माडी राम मन्दिर घुमेपछि प्रधानमन्त्रीलाई चिठी

    सम्मानीय प्रधानमन्त्री के.पी. शर्मा ओली ज्यू 
    नमस्कार !

    images

    चितवन माडी मेरो आफ्नै जन्मथलो । कर्मथलो केही बाहिर भएर होला चाडपर्व र काम पर्दा मात्र घरमा आइने । सरकारले सरकारी कर्मचारीहरुलाई जस्तो भ्रमण विदा निजी क्षेत्रका कम्पनीहरु एकाध बाहेकले नदिने त्यसमाथी पनि आफ्नो त कुरै नगरम् । त्यही भएर पनि माडीको वल्लो छेउमा घर भएर पनि पल्लो छेउको अयोध्या राम मन्दिर जाने अवसर जुरेको थिएन । भलै तिनवर्ष अघि गया–कासी तिर्थ जाँदा भारतको अयोध्याधाम अवलोकन गर्दै घुमेंको थिए अहिलेको नयाँ मन्दिर त बन्दै थियो । एक पटक मुर्ति ल्याउने क्रममा र पोहोर साल त्रि.वि.का प्रोफेसर सरहरुसँग घुम्न जाने योजना अन्तिम–अन्तिम सयममा सफल हुन सकेन तर यसपाली तेस्रो पटकको प्रयासमा वृहत आसा राखेर माडी र पारिका आफन्तको छ सदस्यीय टोली घुम्न गईयो । मोबाइलको क्यामेराले गुणस्तरिय फोटो भिडियो आउला–नआउला, अटाउला–नअटाउला भनेर ३६० डिग्रीको कोणबाटै फोटो, भिडियो खिच्नी के जाती क्यामेरा पनि बोक्न भनेको थिए भाईहरुलाई ! दिलको कुनामा आँफूले राखेपनि सोसल मिडियाको भित्तामा टाँसौला आँफूसँग जोडिएकालाई भनेर । माडीमा सबैभन्दा पूर्वाधारमा विकास भएको पुल र पिच बाटो । सरर हुँइकिदै एकैछिनमा पुगियो अनि बाटोमै रहेको प्रवेशद्धारमै रोकिएर फोटो खिचियो । 

    Shanker Pandey - Mukti - Ram Mandir.jpeg

    भिडियो खिच्दै मन्दिर तिर हुँईकिदै थियौं । असारेमासको पानीले रुझाईहाल्यो । हत्त न पत्त बाइकहरु यत्रतत्र छोडेर ओत लाग्न थाल्यौं । केही हामी जस्तै र केही सम्भवतः काम गरिरहेका कामदार अनि कोही वस्तु चराउन आएका गोठाला पनि ओत लाग्न जम्मा भइयो । कोही कुर्चि त कोही बेन्चहरु खोज्दै थिए बस्नका लागि तर म भने पूर्व दिशाबाट सुरु गरेर चारै दिशा तिर एक फन्का नजर डुलाएँ र सम्झिएँ देशका सर्वशक्तिमान प्रधानमन्त्रीले गौरवका साथ अन्तराष्ट्रिय जगतमै तरङ्ग ल्याएको अयोध्याको पृष्ठभुमि अनि दाँजे मेरो नजरले कैद गरेको दृष्यहरु । एक पटक राम्ररी देखीनकी भनेर भिजेको गञ्जीले चस्मा पनि पुछें र आँखा पनि मिचें । अल्ली प्रष्ट देखियो तर थप केही देखिएन । पानी पनि घामपानी जस्तै थियो मेरो आशा र परिणाम जस्तै । विस्तारै रोकिन थाले पछि हाँनिएर लाग्यौं मन्दिर तिर भित्र पस्न मिल्ने नमिल्ने अनभिज्ञताले कोही सम्बन्धित व्यक्ति छन् कि भनेर सबै जनाले नजर डुलायौं । पहेँलो बस्त्र लगाउनु भएको व्यक्तिमा नजर पुग्यो पक्कै पनि उहाँलाई थाहा छ कि भनेर सोध्न पुग्यौं उही ओत बसेतिर । उहाँ नै त्यहाँको गुरु हुनुहुँदो रहेछ । आँफूलाई जानकारी भएको पौराणिक कथा र भौतिक पूर्वाधार नभएका व्यथा सुनाउँनु भयो । मन्दिर भित्र गएर फोटो खिच्न मिल्ने पनि रहेछ । हामी सबै जनाको ग्रुप फोटो गुरुले नै खिचिदिनु भयो । सबै जनाको निराशा अनुहारबाटै प्रष्ट थियो । अरु सबै फेरि ओत लागेको टहरा तिर लागे म भने मन्दिरकै पेटिमा टुस्स बसे अनि घोत्लिएँ ‘सय गुणलाई एक बैगुनले जित्छ’ भन्छन् तर तपाईको त गुण भन्दा दोष कति गुणा बढी हुन थाल्यो । म चाहि गुण र दोष अनुसार ताली र गाली गर्छु, भलै मानविय त्रुटी हुन सक्लान् । भारतले लगाएको नाकाबन्दी ताका तपाईले लिएको चट्टानी अडान देखि नै सरकार फेरबदलमा हुने भारतिय हस्तक्षेपको दबदबा हटेकै हो । अघिल्लो पटक तपाई प्रधानमन्त्री हुँदा पार्टी भित्रका विरोधका बाबजुत पनि युवराज खतिवडालाई अर्थमन्त्री बनाएर अर्थतन्त्र सुधारका र मजबुदीको जग बसेको थियो भलै मलाई व्यक्तिगत रुपमा उहाँले शेयर बजार प्रति लिएको नीति र कदमहरुले मैले आज सम्म कमाएको ठूलो हिस्सा गुमाँए तर म खुसी थिएँ । हाम्रै जन्मथलोमा भगवान रामको जन्म भएको भनाई र राम मन्दिरको परिकल्पनाकार स्वयं तपाईं नैं हुँदा र तपाईले सारेको योजना सुन्दा म त्यो भन्दा पनि बढी खुसी भएको थिएँ । भनिन्छ काम गर्नेले त दिनमा सपना देख्छ र कार्यान्वयन गर्दछ तर तपाई त धेरै रातमा देखिएका सपनाहरु बाँड्दै उखान–टुक्कामा समय फाल्दै जानु भयो र अहिले आएर फेरि भगवान शिवको बारेमा अन्ट–सन्ट बोल्दै राम नेपालको माडीमा जन्मेका हुन भनेर बोल्नका लागि डराउनु पर्दैन भनेर पुनः प्रष्ट्याउनु भयो । आफ्नै समय मिलाएर राम मन्दिर अयोध्याधामका वृहत चर्चा र हालसम्मका प्रगती विवरणका बारेमा लेख लेखौंला भनेर सोचेको मान्छेले हजुरलाईनै पत्र लेख्ने जमर्को गरेको हुँ ।    

    आजभन्दा झण्डै ३ दशक अगाडीको घटना एकाएक सम्झिन पुगें सोह्र वर्षे उमेरमा एस.एल.सि. दिएर सकेपछि त्रिवेणीधाम घुम्न गएको, बिशाल नारायणी नदिको पानी भारत तिर सलल नहर बगेको तर हाम्रो तिरको नहर सुख्खा अनि घाँस पलाएको । साह्रै आत्मा रोयो । रिलवाला क्यामेरामा फोटो कैद गर्न खोजें तर फोटो खिच्न निषेध गरिएको रहेछ । हो यहि घटनाले जिवनमा पहिलो पटक राष्ट्रियताको दियो बलेको हो मेरो मानस पटलमा । अहिले राम मन्दिरको यो दुरा अवस्थाले उस्तै चित्त दुख्यो र सोच्न पुगे तपाईको बोली र परिणाम । तपाईका पानी जहाज, घर–घरमा ग्याँसका पाइप जस्ता हावादारी गफ र शून्य परिणामहरु सुनेकै थिएँ ।

    विश्व भरका हिन्दुहरुको आस्थाका धरोहर भगवान श्रीराम र धार्मीक विषयमा आफ्नै कानले सुनेको अनि आँखाले देखेको पृष्ठभूमीले तपाई प्रधानमन्त्री के.पी. शर्मा ओलीको बोलीमा मेरो आशाको दियो निभेको । खैर केही छैन मेरो आशाको दियो निभेपनि यदि अरु कसैको मनमा बत्तीनै बलेको छ भने एक पटक तपाईलाई राम मन्दिर अयोध्याधाममा तुरुन्तै भ्रमण गराइदिनेछन् या तपाई आफैं गर्नुहुनेछ । यदि बोलेको कुरा काम गर्ने हुटहुँटीले तपाईमा राँको नै बलेको रहेछ भने यहाँ आएपछि सम्भवत तपाईले सबन्धित निकाय र आफ्नो गौरवशाली पार्टीका नेता अर्थात तपाईको भाषामा भन्नुपर्दा झोलेहरुलाई निम्न प्रश्नहरु पक्कै सोध्नु हुनेछ । नत्र माडीबासीले समय आएपछि तपाईलाई नै सोध्नेछन् ।

    1.  मैले राम नेपालमा जन्मेका हुन भनेर बोलेको पाँच वर्ष भइसक्यो । यो विचमा तपाईहरुले खै के कति आधारमा पौराणिक तथा तथ्यगत प्रमाणहरु जुटाउनु भयो ?
    2. रामायणमा उल्लेख भए बमोजिमका सम्बन्धित ठाँऊ र वस्तुहरुको सङग्रालयका लागि के कस्ता गुरुयोजना बने र सो अनुसार आजसम्म किन बनाइएन ?
    3.  मैले पठाइदिएका मुर्तीलाई राख्ने यो सानो टिनको मन्दिर र मुस्किलले केही व्यक्ति अट्ने टिनको छाप्रो बाहेक अरु के कति भौतिक पूर्वाधारहरु बनाउनु भयो ?
    4. मन्दिर बनाउँदा रामलिला झल्कीने गरि नेपाली कलाकृति अनुसार वृहत किन बनाइएन ?
    5. दुई नदिको संगम बगरमा बनाईएको मन्दिरलाई भोलिका दिनमा हुन सक्ने बाढी जस्ता प्राकृतिक विपत्तीबाट जोगाउन तटबन्धनका पूर्वाधारहरु के कस्ता तयार भए र अन्य उपायहरु के गर्नु भएको छ ? 
    6. आउने आगन्तुक, भक्तजन र तिर्थालम्वीहरुको सहजतालाई के–कस्ता चुस्त व्यवस्थापन गर्नु भएको छ ? 
      र अन्तःमा सातौ प्रश्न मेरा दलका प्रतिनिधीहरुलाई
    7.  तपाईहरुलाई राजनीति गरिखान त वर्षौ देखीको राष्ट्रिय निकुञ्ज र माडीलाई मणी बनाउने नारा पनि छँँदै थियो अब काम नगर्ने हो भने किन राम मन्दिर नै चाहियो ??     
       

    शंकर पाण्डे ‘मुक्ति’
    माडी–२, चितवन, नेपाल

    [email protected]

     

     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट