images

Sep 24 2026 | २०८३, असोज ८ गते

भोटेकोशी बाढी पीडितका लागि एनआरएनएको राहत तथा पुनर्स्थापना अभियान निरन्तर

भोटेकोशी बाढी पीडितका लागि एनआरएनएको राहत तथा पुनर्स्थापना अभियान निरन्तर

भोटेकोशी बाढी पीडितका लागि पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणमा सहकार्यको तयारी, तुम्चे र देविघाटका ८० परिवारलाई राहत सामग्री वितरण

बुधबार, असोज ७ २०८३
बुधबार, असोज ७ २०८३
  • भोटेकोशी बाढी पीडितका लागि एनआरएनएको राहत तथा पुनर्स्थापना अभियान निरन्तर

    भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान निरन्तर जारी रहेको छ।

    विनाशकारी बाढीपछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा एनआरएनएको सम्भावित भूमिका र सहकार्यका विषयमा एनआरएनएका पदाधिकारीहरूले पूर्व राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत एवं वरिष्ठ रणनीतिक सल्लाहकार सुशील ज्ञवालीसँग छलफल गरेका छन्। छलफलमा पदाधिकारीहरूले विपद्पछिको पुनर्निर्माणलाई प्रभावकारी र दीर्घकालीन बनाउन एनआरएनएको विश्वव्यापी सञ्जाल, ज्ञान, सीप, पुँजी, प्रविधि र अनुभवलाई सरकारसँगको समन्वयमा परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्। ज्ञवालीले स्वास्थ्य, शिक्षा, संरक्षण, जीविकोपार्जन तथा उद्यमशीलतातर्फ सरकारसँग सहकार्य गर्दै दीर्घकालीन कार्यक्रम सञ्चालनमा एनआरएनएले भूमिका निर्वाह गर्न सक्ने बताए, साथै स्थायी बस्ती विकासमा प्रभावित समुदायको आवश्यकता, इच्छा र भौगोलिक अवस्थालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए।

    b21f2447-fd4d-44a3-9372-d87e3391917e.jpg

    रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तर्वार्ता कार्यक्रममा सहभागी हुँदै एनआरएनएका पदाधिकारीहरूले विपद् प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि संघ निरन्तर क्रियाशील रहेको जानकारी दिए। हाल बाढी प्रभावित क्षेत्रमा राहत सामग्री वितरण, स्वास्थ्य सेवा तथा आवश्यक सहयोगका कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै, विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणमा गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी, प्रविधि र अनुभव परिचालन गर्न सरकारसँग समन्वय बढाइएको उनीहरूले बताए। कार्यक्रममा एनआरएनएका महासचिव डा. चिरञ्जीवी खड्का, उपाध्यक्ष रोजिना प्रधान राई, महिला उपाध्यक्ष राधिका गुरुङ (टिका) र सहकोषाध्यक्ष गंगा खतिवडालगायतका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता थियो।

    भोटेकोशी बाढीबाट प्रभावित तुप्चे र देवीघाटका ८० परिवारलाई राहत सामग्री वितरण गर्न एनआरएनएको टोली प्रभावित क्षेत्रमा जाने भएको छ। यस क्रममा खाद्यान्न, ग्यास, भाँडाकुँडा तथा अत्यावश्यक सामग्री वितरण गरिनेछ। एनसीसी फिलिपिन्स र स्टिचिङ नेपाल फन्ड, नेदरल्यान्ड्सको सहयोगमा नुवाकोटको तुप्चे र देवीघाटमा बाढीपहिरोबाट प्रभावित परिवारका लागि यो सामग्री जुटाइएको हो। स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा त्यहाँ आवश्यक ग्यास सिलिन्डर, भाँडाकुँडा र खाद्यान्नलगायत सामग्री वितरण गर्न लागिएको छ।

    WhatsApp Image 2026-09-22 at 17.46.39.jpeg

    यसैबीच, मौसम विभागले आगामी केही दिन मौसम प्रतिकूल रहने पूर्वानुमान गरेकाले नुवाकोटको बेतरावती क्षेत्रमा तय गरिएको राहत वितरण कार्यलाई हाललाई स्थगित गरिएको छ। प्रतिकूल मौसमका कारण राहत सामग्री ढुवानी तथा वितरणमा समेत कठिनाइ हुन सक्ने भएकाले अभियान अस्थायी रूपमा रोकिएको हो। मौसममा सुधार आएपछि केही दिनभित्रै राहत सामग्री वितरण कार्यलाई पुनः निरन्तरता दिइने एनआरएनएले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट