तीन देश, एउटै टेबल: बहुध्रुवीय विश्वमा चीन-दक्षिण एशिया सम्मेलन सुरु
तीन देश, एउटै टेबल: बहुध्रुवीय विश्वमा चीन-दक्षिण एशिया सम्मेलन सुरु
बहुध्रुवीय विश्वमा चीन-दक्षिण एशिया सम्मेलन सुरु
चीनको फुडान विश्वविद्यालय अन्तर्गतको दक्षिण एशियाली अध्ययन केन्द्र र नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (NIICE) को संयुक्त आयोजनामा भइरहेको यस सम्मेलनको उद्देश्य त्रिपक्षीय सम्पर्क, सुरक्षा र बहुध्रुवीय विश्वका उदीयमान चुनौतीमा केन्द्रित रहेर क्षेत्रीय सहकार्यसम्बन्धी शैक्षिक संवाद र नीतिगत छलफल प्रवर्द्धन गर्नु हो। सम्मेलनमा नेपाल, चीन र भारतबाट झन्डै ३० जना वक्ता, शिक्षाविद्, कूटनीतिज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता र रणनीतिक मामिला विज्ञ सहभागी भएका छन्।
काठमाडौं — "बहुध्रुवीय विश्वमा चीन र दक्षिण एशिया" शीर्षकको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन साउन २३ गते काठमाडौंको पुल्चोकस्थित द स्क्वायर होटलमा सुरु भएको छ। यस सम्मेलनले नेपाल, चीन र भारतका विशिष्ट विद्वान् तथा विदेश मामिला विज्ञहरूलाई दक्षिण एशियाको परिवर्तनशील भूराजनीतिक परिदृश्यमा छलफल गर्न एकै ठाउँमा ल्याएको छ।
चीनको फुडान विश्वविद्यालय अन्तर्गतको दक्षिण एशियाली अध्ययन केन्द्र र नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (NIICE) को संयुक्त आयोजनामा भइरहेको यस सम्मेलनको उद्देश्य त्रिपक्षीय सम्पर्क, सुरक्षा र बहुध्रुवीय विश्वका उदीयमान चुनौतीमा केन्द्रित रहेर क्षेत्रीय सहकार्यसम्बन्धी शैक्षिक संवाद र नीतिगत छलफल प्रवर्द्धन गर्नु हो। सम्मेलनमा नेपाल, चीन र भारतबाट झन्डै ३० जना वक्ता, शिक्षाविद्, कूटनीतिज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता र रणनीतिक मामिला विज्ञ सहभागी भएका छन्।
उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा बोल्दै परराष्ट्रमन्त्री शिशिर खनालले एशियाको रूपान्तरणले साझा समृद्धिका लागि अभूतपूर्व अवसर सिर्जना गरेको बताए। उनले दक्षिण एशियामा प्रशस्त सम्भावना भए पनि आर्थिक क्षमताको ठूलो हिस्सा अझै अनुपयोगित रहेको उल्लेख गर्दै, नेपालले भारत र चीन दुवैको निरन्तर विकास र समृद्धिलाई हार्दिक स्वागत गर्ने र सार्वभौम समानता, आपसी सम्मान, पारस्परिक लाभ र एकअर्काको वैध चासोप्रति संवेदनशीलताका आधारमा दुवै छिमेकीसँगको दीर्घकालीन द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको बताए।
खनालले आर्थिक कूटनीति नेपालको बाह्य सम्बन्धको एक प्रमुख प्राथमिकता बनेको बताउँदै, नेपालको परराष्ट्र नीति व्यापार, लगानी, रोजगारी, पर्यटन, प्रविधि, नवप्रवर्तन र दिगो विकासमार्फत जनताको जीवनस्तर सुधार्ने विषयमा केन्द्रित रहेको स्पष्ट पारे। सीमापार यातायात सम्पर्क, व्यापार सहजीकरण, डिजिटल सम्पर्क र जनस्तरीय आदानप्रदान विस्तार गर्दै नेपाल भूपरिवेष्ठित मुलुकबाट "चीन र दक्षिण एशियालाई जोड्ने जीवन्त र गतिशील पुल" बन्न चाहेको उनले उल्लेख गरे।
नेपालको जलविद्युत् सम्भावना, जैविक विविधता, पर्यटकीय सम्पदा र चीन तथा दक्षिण एशिया दुवैसँगको साझा सभ्यतागत सम्पदालाई नेपालको तुलनात्मक लाभका रूपमा उजागर गर्दै खनालले क्षेत्रको साझा भविष्य व्यापार, लगानी, सम्पर्क, ऊर्जा, प्रविधि, जलवायु अनुकूलन र जनस्तरीय आदानप्रदानमा व्यावहारिक साझेदारी निर्माणमा निर्भर रहेको बताए। आफ्नो सम्बोधन समापन गर्दै उनले एशियाको भविष्य अर्थतन्त्रको आकार वा प्रविधिको गतिले मात्र होइन, निर्माण गरिने साझेदारीको गुणस्तर र विकसित गरिने विश्वासले नै निर्धारण गर्ने बताउँदै नेपाल साझा समृद्धि र दिगो विकासमा रचनात्मक भूमिका खेल्न तयार रहेको जनाए।
उद्घाटन सत्रमा बोल्दै नेपालका लागि चीनका राजदूत डा. झाङ माओमिङले विगत केही वर्षमा विश्वले भोगेको गहिरो परिवर्तनका बीच पुराना र नयाँ अन्तरविरोध गाँसिँदै गएको, एकतरफावाद, संरक्षणवाद र वर्चस्ववाद बढ्दै गई शान्ति र विकासका लागि गम्भीर चुनौती खडा भइरहेको उल्लेख गरे। यसैबीच दक्षिण एशियाले भने समग्र स्थिरता र निरन्तर आर्थिक वृद्धि कायम राख्दै विश्व शक्ति संरचनामा अपरिहार्य उदीयमान शक्तिका रूपमा उदाएको उनले बताए। नेपाललाई चीन र दक्षिण एशियालाई जोड्ने महत्वपूर्ण पुलका रूपमा उल्लेख गर्दै उनले क्षेत्रीय सम्पर्क र व्यावहारिक सहकार्य बढाउनमा नेपालको अपरिहार्य भूमिका रहेको औंल्याए।
राजदूत झाङले सन् २०२६ चीनको १५औं पञ्चवर्षीय योजनाको सुरुवात र नेपालको नयाँ सरकारको पहिलो वर्ष भएकाले यसले दुई देशबीच थप रणनीतिक तादात्म्य र एकीकृत विकासका लागि ठूलो अवसर ल्याएको बताए। भविष्यको सहकार्यमा जोड दिँदै चीन नेताहरूबीच भएको साझा समझदारी कार्यान्वयन गर्न, उच्चस्तरीय बेल्ट एन्ड रोड सहकार्य गहिरो बनाउन र गरिबी न्यूनीकरण, स्वास्थ्य सहकार्य तथा जनस्तरीय आदानप्रदानका ब्रान्ड कार्यक्रम निरन्तर सञ्चालन गर्न तयार रहेको उनले बताए।
उद्घाटन सत्रको अध्यक्षता NIICEकी निर्देशक सुमित्रा कार्कीले गरेकी थिइन् भने संस्थाका अनुसन्धान निर्देशक डा. प्रमोद जैसवालले उद्घाटन मन्तव्य दिँदै परराष्ट्र नीति, रणनीतिक मामिला, आर्थिक कूटनीति, अन्तर्राष्ट्रिय व्यापार र क्षेत्रीय सहकार्यजस्ता क्षेत्रमा कार्यरत स्वतन्त्र थिंकट्यांकहरूका लागि समर्पित सहयोग संयन्त्र स्थापना गर्न नेपाल सरकारलाई सुझाव दिए। उनले भारत र चीनमा नेपाल अध्ययन केन्द्र प्रवर्द्धन गर्नुपर्ने सुझाव पनि दिए।
फुडान विश्वविद्यालयका दक्षिण एशियाली अध्ययन केन्द्रका निर्देशक प्रा. डा. झाङ जियाडोङले धन्यवाद ज्ञापनसहित उद्घाटन सत्र समापन गरे। उनले चीन र नेपाललाई पर्वत र नदीले हुर्काएका मित्रराष्ट्र र पुस्तौंको मित्रता, आपसी सहयोग र साझा विकासमा आधारित साझेदार भनी वर्णन गरे।

दुई दिने यस सम्मेलनमा बहुध्रुवीय विश्वमा चीन र दक्षिण एशिया, नेपाल-चीन-भारत त्रिपक्षीय सहकार्य, यी देशहरूबीचको द्विपक्षीय सम्बन्ध, रणनीतिक प्रतिस्पर्धा र सुरक्षा, आर्थिक करिडोर तथा क्षेत्रीय विकास, सफ्ट पावर र शैक्षिक कूटनीति, र नेपालको आन्तरिक गतिशीलता तथा परराष्ट्र नीतिजस्ता विषयमा केन्द्रित आठ वटा विषयगत सत्र हुनेछन्।

फुडान विश्वविद्यालय, युन्नान सामाजिक विज्ञान प्रतिष्ठान, सांघाई इन्स्टिच्युट्स फर इन्टरनेशनल स्टडिज, हेबेई विश्वविद्यालय (चीन), मनोहर पर्रिकर इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालिसिस, जवाहरलाल नेहरू विश्वविद्यालय, दिल्ली विश्वविद्यालय, फोर स्कुल अफ म्यानेजमेन्ट (भारत) लगायतका प्रतिष्ठित संस्थाका विद्वान्हरूसँगै नेपालका पूर्वराजदूत, त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, पोलिसी रिसर्च इन्स्टिच्युट र NIICEका प्रतिनिधिहरू वक्ताका रूपमा सहभागी भएका छन्।
यो सम्मेलन साउन २४ गते (अगस्ट ८) सम्पन्न हुनेछ।
