'हामीसँगै उठ्छौं, अगाडि बढ्छौं' नाराका साथ NRNAको 'आरोहण २०२६' सम्मेलन १५ अगस्टदेखि
'हामीसँगै उठ्छौं, अगाडि बढ्छौं' नाराका साथ NRNAको 'आरोहण २०२६' सम्मेलन १५ अगस्टदेखि
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्ने ११औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा 'आरोहण २०२६' आगामी १५ देखि १७ अगस्टसम्म चीनको ग्वांगजाउ शहरस्थित क्राउन प्लाजा ग्वांगजाउ सिटी सेन्टर होटलमा हुने भएको छ। "हामीसँगै उठ्छौं, अगाडि बढ्छौं" भन्ने मूल नारासहित आयोजना हुन लागेको यस सम्मेलनको तयारी पूरा भइसकेको संघले जनाएको छ।
एनआरएनए राष्ट्रिय समन्वय परिषद् र एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजक समितिको मुख्य आयोजनामा हुने यस कार्यक्रमको उद्घाटन समारोह १५ अगस्टका दिन हुनेछ। कार्यक्रमको अध्यक्षता एसिया प्यासिफिक क्षेत्रीय संयोजक दीपक कंडेलले गर्नेछन् भने प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। यसका अतिरिक्त विभिन्न राजनीतिक दलका सचेतक, सांसद, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, चीनस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरू लगायत एनआरएनएका संस्थापक तथा वरिष्ठ नेतृत्वको समेत विशेष उपस्थिति रहने बताइएको छ।
तीन दिने यस सम्मेलनमा गैरआवासीय नेपाली र नेपालबीचको व्यापार लगानी सम्बन्ध, वैदेशिक रोजगार तथा पुनःएकीकरण, नागरिकता निरन्तरता र अधिकार, पर्यटन प्रवर्द्धन, महिला तथा युवा सशक्तीकरण र संघको पुनःब्रान्डिङलगायतका विषयमा छुट्टाछुट्टै आठ सत्रमा छलफल हुनेछ। यसमा क्षेत्रभरका राष्ट्रिय समन्वय परिषद्हरूबीच अनुभव आदानप्रदान गर्ने र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षा तथा अधिकारसम्बन्धी विषयमा समेत गहन बहस हुने जनाइएको छ।
१६ अगस्टका दिन विभिन्न प्लेनरी सत्र सम्पन्न भएपश्चात 'ग्वांगजाउ घोषणापत्र २०२६' जारी गर्दै सम्मेलनको औपचारिक समापन गरिनेछ। त्यसपछि अन्तिम दिन १७ अगस्टका दिन सहभागी प्रतिनिधिहरूका लागि ग्वांगजाउबाट करिब ७०–८० किलोमिटर टाढा रहेको छिंगयुआन शहरस्थित प्रख्यात गुलोङ गर्ज ग्लास ब्रिज अवलोकनका लागि भ्रमण कार्यक्रम पनि तय गरिएको छ।
एनआरएनएले यस सम्मेलनले नेपाल र एसिया प्यासिफिक क्षेत्रका गैरआवासीय नेपालीहरूबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। संघले सम्मेलनमा उपस्थित भई समाचार सम्प्रेषण गरिदिन सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चार माध्यमहरूलाई हार्दिक आमन्त्रण गरेको छ।
