एनआरएनए नेपालमा लगानी गर्न उत्साहित, कानुनी झन्झट र सुरक्षा समस्या मुख्य बाधकको रूपमा उजागर
एनआरएनए नेपालमा लगानी गर्न उत्साहित, कानुनी झन्झट र सुरक्षा समस्या मुख्य बाधकको रूपमा उजागर
ग्वाङ्झाउ, चीन — चीनको ग्वाङ्झाउमा सम्पन्न ११औँ एसिया प्यासिफिक सम्मेलनमा सहभागी गैरआवासीय नेपालीहरू (एनआरएन) ले नेपालमा लगानी गर्न सधैँ इच्छुक रहेको बताउँदै, यसका लागि झन्झटिलो कानुनी प्रक्रिया र लगानी सुरक्षाको अभावले भने निरन्तर बाधा पुर्याइरहेको साझा चिन्ता व्यक्त गरेका छन्।
एनआरएनएका पूर्वअध्यक्ष विनोद कुँवरले नेपालमा कामभन्दा गफगाफ बढी हुने प्रवृत्ति र लामो समय लाग्ने कानुनी प्रक्रियाले लगानीकर्तालाई निरुत्साहित बनाउने बताए। उनका अनुसार दैनिक कामको लागि उपलब्ध समय पनि सीमित हुने गरेको र यसले लगानीमा प्रत्यक्ष असर पार्ने बताए। उनले उच्च ब्याजदरलाई पनि समस्याको रूपमा औँल्याए।
लगानी विश्लेषक अरुणकुमार सुवेदीले ठूला लगानीकर्ताले समेत सामान्य प्रशासनिक कर्मचारीसँग दैनिक धाउनुपर्ने अवस्थाले नेपालमा लगानी प्रवाह अवरुद्ध भइरहेको बताए। उनका अनुसार विदेशमा रहेका करिब ४० प्रतिशत नेपालीले स्वदेशमा लगानी गर्न चाहेको तर राजनीतिक अस्थिरताले यसमा बाधा पुर्याइरहेको छ।
एनआरएनएका पूर्वअध्यक्ष उपेन्द्र महतोले धम्की वा डरले होइन, अनुकूल वातावरण र कानुनी सुरक्षा दिएर मात्र लगानी भित्र्याउन सकिने बताए। उनका अनुसार एनआरएन लगानीले स्वदेशी लगानीका साथै अन्तर्राष्ट्रिय लगानी समेत भित्र्याउन सघाउ पुर्याउँछ।
एनआरएन चीनका पूर्वअध्यक्ष निर्मल शर्मा चौलागाईंले उत्तरी नाकाबाट वर्षमा जम्मा ६ महिना मात्र सामान ढुवानी हुने गरेको र पूर्वाधार अभावले उद्योगीहरूलाई ठूलो आर्थिक नोक्सानी भइरहेको जानकारी दिए। यसैबीच अनुसन्धानकर्ता देविबहादुर बस्नेतले मेडिकल र प्रोटिन उत्पादन क्षेत्रमा नयाँ सम्भावना औँल्याए।
कार्यक्रममा सहभागी नेकपाका पूर्वसांसद माधव सापकोटा र रास्वपाका सांसद खगेन्द्र सुनारले लगानीयोग्य वातावरण निर्माणमा आ-आफ्ना दलको तर्फबाट भूमिका खेल्न तयार रहेको प्रतिबद्धता जनाए। सुनारले नेपालमा उत्पादनभन्दा आयातमा निर्भर रहने पुरानो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।
चीनका कार्यवाहक राजदूत रोशन खनालले लगानीका सम्भावित क्षेत्र पहिचानमा दूतावासले सघाउ पुर्याउने बताउँदै, चीनमा व्यवसायमा सफल भएका ६१ प्रतिशत एनआरएनले स्वदेश फर्कने चाहना राखेको जानकारी दिए।
