बैतडीको अनौठो सम्पदा: तामाको साँढे, लाखेनाच र ५३ वर्षे घण्टको कथा
बैतडीको अनौठो सम्पदा: तामाको साँढे, लाखेनाच र ५३ वर्षे घण्टको कथा
लाखेनाच र ५३ वर्षे घण्टको कथा
बैतडी — नेपाल र धेरैजसो नेपालीले अझै नचिनेको बैतडी जिल्लाको एक अनौठो सांस्कृतिक तथा धार्मिक सम्पदा हो, देवलहाटस्थित पञ्चदेवल शिवधाममा रहेको तामाको साँढे। यस धार्मिक स्थलसँग जोडिएको किम्बदन्ती, वार्षिक रूपमा मनाइने गौरापर्वको 'लाखेनाच' परम्परा र ५३ वर्ष पुरानो ऐतिहासिक घण्टले बैतडीको धार्मिक-सांस्कृतिक धरोहरलाई थप विशिष्ट बनाएको छ।
दशरथचन्द नगरपालिका–४, देवलहाटमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पञ्चदेवल शिवधाम (सप्तदेवल)मा रहेको यस तामाको साँढेसँग जोडिएको किम्बदन्ती राणाकालीन समयसम्म पुग्छ। भनाइअनुसार, त्यतिबेला बैतडी जिल्लामा लामो समयसम्म पानी नपरी खडेरी परेको थियो। शिवको आराधना गरे पानी पर्ने धार्मिक विश्वास रहेकाले तत्कालीन बडाहाकिम नीलबिक्रम राणा यस धार्मिक स्थलमा पुगी शिव आराधना गरेका थिए। तर आराधनापछि तत्काल पानी नपरेपछि उनले "यस ठाउँमा देवताले के वर्षा गराउलान् र?" भन्दै अविश्वास व्यक्त गरेका थिए।
तर यस धामबाट घर फर्कने क्रममा अचानक भारी वर्षा भई उनी घर जान नसकेको अवस्था सिर्जना भयो। यसपछि यस शिवधामको सत्यतामाथि विश्वास बढ्दै गई त्यसैबेला यहाँ तामाको साँढे चढाइएको थियो, जुन आजसम्म पनि विद्यमान रहेको छ।
भदौ महिनामा बैतडीको देवलहाट क्षेत्रमा मनाइने गौरापर्व विशेष सांस्कृतिक परम्पराका साथ सम्पन्न हुन्छ, जसको मुख्य आकर्षण नै 'लाखेनाच' हो। दशरथचन्द नगरपालिका–४ मा मनाइने यस पर्वमा लाखेनाच प्रमुख आकर्षणका रूपमा प्रस्तुत हुन्छ।
लाखेनाचको विधि अनुसार स्थानीय भट्ट र मार्कण्ड जातिका पाँच वा सात जना पुरुषले शरीरमा कपडा नलगाई विभिन्न पवित्र रुखका पातले शरीर ढाकी हातमा त्रिशुल समातेर नृत्य प्रस्तुत गर्ने परम्परा छ। बैतडीको पञ्चदेवल क्षेत्रमा शरीरमा पात बेरेर गरिने यो लाखेनाच परम्परा अझै कायम रहेको छ, र बैतडी सदरमुकाम नजिकैको देवलहाटको पञ्चदेवल मन्दिरमा गौरापर्वमा मात्र यो नृत्य प्रस्तुत गरिन्छ।
नाचमा सहभागी हुनुअघि व्यक्तिहरूले मन्दिरबाट करिब १०० मिटर टाढा रहेको सुकनाली कुइँवामा स्नान गर्छन्। त्यसपछि तरुलका लहरा, केराको पात तथा अन्य आयुर्वेदिक पातहरूले शरीर सजाइन्छ। सहभागीहरूले कमेरो, रातो माटो र खरानीको टीका लगाउने चलन पनि रहेको छ। यसरी सजिएपछि नै लाखेनाच नृत्य प्रस्तुत गरिन्छ। यसरी भदौको गौरापर्वमा हुने यो लाखेनाच परम्परा देवलहाट, बैतडीको सांस्कृतिक जीवन्तताको अमूल्य धरोहरका रूपमा संरक्षित हुँदै आएको छ।
पञ्चदेवल शिवधाम, सप्तदेवल मन्दिर प्राङ्गणमा रहेको ऐतिहासिक घण्ट पनि यस स्थलको महत्त्वपूर्ण सम्पदा हो। विक्रम संवत् २०३० सालमा बैतडीको तल्लीहाटगाउँ बस्ने जयराम सिंह मार्कण्डका छोरा खडक सिंह मार्कण्डले यो घण्ट पञ्चदेवल शिवधाम, सप्तदेवल मन्दिरमा चढाएका थिए। धार्मिक, आध्यात्मिक र सांस्कृतिक उन्नतिको धरोहर मात्र नभई ऐतिहासिक पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण रहेको यस स्थलमा यो घण्ट आज पनि विद्यमान रहेको छ।
तामाको साँढेको किम्बदन्ती, वार्षिक गौरापर्वमा हुने लाखेनाच जस्ता जीवित परम्परा र ऐतिहासिक घण्टजस्ता सम्पदाले पञ्चदेवल शिवधाम, सप्तदेवल मन्दिरलाई बैतडीको मात्र नभई सम्पूर्ण नेपालकै धार्मिक-सांस्कृतिक पर्यटनको दृष्टिले महत्त्वपूर्ण स्थलको रूपमा स्थापित गरेको छ। तर यस्ता समृद्ध सम्पदाहरू अझै पनि व्यापक रूपमा नेपाली समाजमा चिनिन नसकेको भन्दै स्थानीयवासीले यसको संरक्षण र प्रचारप्रसारमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
