पोखरामा माटो खस्दा दुई मजदुरको ज्यान गयो
पोखरामा माटो खस्दा दुई मजदुरको ज्यान गयो
घरको जग खन्दै गर्दा ७ फिट गहिरो खाल्डोमा पुरिएका पर्वत र गोरखाका दुई मजदुरको उपचारकै क्रममा मृत्यु
पोखरा। पोखरा महानगरपालिका–१८ अँधेरीकुनामा घरको जग खन्ने काम गर्दै गर्दा माटो खसेर पुरिएका दुई मजदुरको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब ७ फिट गहिरो खाल्डोमा काम गरिरहेका उनीहरूमाथि अचानक माटोको ढिस्को खसेको थियो।
मृतकमध्ये एक पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीका २९ वर्षीय विक्रम सुनार हुन्। अर्का मृतक गोरखाको पालुङटार नगरपालिका–७ का ३७ वर्षीय राजु कुमाल हुन्। कास्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले यी विवरण दिएका छन्।
माटो पन्छाएर दुवैलाई निकालिएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो। प्रहरीका अनुसार सुनारलाई अपराह्न ४:३५ बजे निकालिएको थियो र उपचारका क्रममा ५ बजे चिकित्सकले मृत घोषणा गरे। कुमाललाई साँझ ६ बजे मात्र निकाल्न सकिएको थियो र ६:२६ बजे उनको पनि मृत्यु भएको घोषणा गरियो।
घटनास्थलमा सशस्त्र प्रहरी बल, कालिका गण पोखराका सहायक निरीक्षक सुजतकुमार यादवको नेतृत्वमा १३ जनाको टोली परिचालन भएको थियो। वडा प्रहरी कार्यालय बगरको टोली र स्थानीयले पनि उद्धारमा सहयोग गरेका थिए। सोही दिन पोखरामा भारी वर्षा पनि भएको थियो।
अवैज्ञानिक तरिकाले प्लटिङ गरिएका ठाउँमा यस्ता दुर्घटना हुने जोखिम बढी हुने भन्दै स्थानीयले सावधानी अपनाउन आग्रह गरेका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
