images

Oct 12 2026 | २०८३, असोज २६ गते

बूढीगण्डकीमा भीषण बाढी, आरुघाट बजार खाली

बूढीगण्डकीमा भीषण बाढी, आरुघाट बजार खाली

पहिरोले थुनिएको नदी खुल्दा तीन चरणमा बाढी, दुई झोलुङ्गे र एक पक्की पुल बगे

आइतबार, असोज २५ २०८३
आइतबार, असोज २५ २०८३
  • बूढीगण्डकीमा भीषण बाढी, आरुघाट बजार खाली

    गोरखा, आइतबार। चुमनुब्री गाउँपालिकामा पहिरोले थुनिएको बूढीगण्डकी नदी आज बिहान खुल्दा आएको बाढीले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। दशैंको पहिलो दिन बिहानै आएको यो विपत्तिले नदी किनारका बस्तीमा त्रास फैलाएको छ।

    प्रहरीका अनुसार चुमनुब्री–६ मा लोक्पा र चुम्लिङबीच पहिरो खसेर नदी थुनिएको थियो। बिहान साढे ५ बजे नदी थुनिएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको थियो। बिहान ६ बजेर १५ मिनेटदेखि थुनिएको स्थानबाट पानी बग्न थालेको र त्यसपछि ठूलो बाढी आएको प्रहरीले जनाएको छ।

    बाढीले दुई वटा झोलुङ्गे पुल र एउटा फलामे पक्की पुल बगाएको छ, साथै विभिन्न स्थानमा घरहरूमा समेत क्षति पुगेको छ। गोरखा र धादिङलाई जोड्ने आरुघाटको पुल पनि बाढीले बगाएको छ र आरुघाटका केही घरमा बाढीको पानी पसेको छ। बाढी आरुघाट पुगेपछि बजार खाली गरिएको छ र प्रहरीले सतर्कताका लागि माइकिङ गरिरहेको छ।

    उद्धारका लागि नेपाली सेनाको टोली हवाई र स्थलमार्गबाट प्रभावित क्षेत्रमा परिचालित भएको छ। सेनाले पहिरोको जोखिममा रहेको जगत् गाउँबाट छ जनाको हवाई उद्धार गरेको छ।

    जल तथा मौसम विज्ञान विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार आज बिहानदेखि नदीमा तीन चरणमा बाढी आएको छ। बाढीको बहाव घट्ने र बढ्ने क्रम जारी रहेकाले जोखिम कायमै रहेको उनले बताए। बाढीको कारणबारे अध्ययन भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बितेको २४ घण्टामा गोरखामा हल्का वर्षा मात्र भएको थियो।

    मानवीय र भौतिक क्षतिको पूर्ण विवरण आउन बाँकी छ। प्रहरी र स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई नदी किनारबाट टाढा रहन र सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

     
     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार