हिंसाविरुद्ध १६ दिन: यस वर्षको नारा 'ऐक्यबद्धता'
हिंसाविरुद्ध १६ दिन: यस वर्षको नारा 'ऐक्यबद्धता'
यस वर्षको नारा 'ऐक्यबद्धता'
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान यस वर्ष मंसिर ९ गतेदेखि २४ गतेसम्म (नोभेम्बर २५ देखि डिसेम्बर १०) सञ्चालन हुने भएको छ। अभियानमार्फत लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने, पीडितको संरक्षण सुनिश्चित गर्ने तथा हिंसाका घटनामा दण्डहीनताको अन्त्य गर्दै न्यायमा पहुँच स्थापित गर्ने उद्देश्य राखिएको छ।
यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘UNiTE to End Violence Against Women and Girls: Ensure justice, protect survivors, end impunity’ तय गरिएको छ। नेपालका लागि राष्ट्रिय नारा 'लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता' राखिएको छ।
अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध सामूहिक प्रतिबद्धता र ऐक्यबद्धता अभिवृद्धि गर्दै पीडित तथा प्रभावितको सुरक्षा, सम्मान र न्याय सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेको छ। लैङ्गिक हिंसाको पूर्ण अन्त्यका लागि राज्यका निकाय, नागरिक समाज, स्थानीय समुदायलगायत सबै पक्षको साझा प्रयास, जिम्मेवारी र सक्रिय सहभागिता आवश्यक रहेको जनाइएको छ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९९ मा नोभेम्बर २५ लाई 'महिलाविरुद्ध हिंसा अन्त्य दिवस' घोषणा गरेपछि विश्वभर यो अभियान मनाइँदै आएको हो। अभियान डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म चल्छ। नेपालमा भने सन् १९९७ (वि.सं. २०५४) देखि यो दिवस मनाउन थालिएको हो। हरेक वर्ष राष्ट्रिय महिला आयोगको नेतृत्वमा काठमाडौंमा र्याली, कोणसभासहित देशभरका स्थानीय तहमा प्रभातफेरी, जनचेतनामूलक कार्यक्रम र छलफल हुने गर्छन्।
