सोलुखुम्बुमा हेलिकोप्टर ठोक्किँदा एक विदेशीको ज्यान गयो
सोलुखुम्बुमा हेलिकोप्टर ठोक्किँदा एक विदेशीको ज्यान गयो
फेरिचे हेलिप्याडमा अवतरणका क्रममा फिस्टेल र डाइनेस्टी एयरका हेलिकोप्टर ठोक्किए, एक जना घाइते
काठमाडौं, १७ कात्तिक – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । घाइते पनि विदेशी नागरिक हुन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकोप्टर आज बिहान करिब ८ बजेर ११ मिनेटमा दुर्घटनामा परेका हुन् । प्रहरी निरीक्षक मौसम तामाङले एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएको पुष्टि गरेका छन् । मृतक कुन देशका नागरिक हुन् भन्ने भने अहिलेसम्म खुलेको छैन । प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार दुवै हेलिकोप्टरका पंखा अवतरणका क्रममा ठोक्किएका हुन् ।
घाइतेलाई प्रभु एयरको हेलिकोप्टरमार्फत उपचारका लागि लुक्ला पुर्याइएको प्रहरीले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दुई हेलिकोप्टरको पंखा ठोक्किएको जानकारी आएको र थप विवरण बुझ्ने प्रयास भइरहेको बताएका छन् ।
प्रहरी नायब उपरीक्षक नविनराज बुढाथोकीका अनुसार दुवै हेलिकोप्टरमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन । पाइलट तथा अन्य यात्रुहरूको अवस्थाबारे पनि विस्तृत जानकारी आउन बाँकी छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् ।
