images

Oct 27 2026 | २०८३, कात्तिक १० गते

५०३ मौसम केन्द्र अब स्वचालित हुँदै

५०३ मौसम केन्द्र अब स्वचालित हुँदै

आइतबार, कात्तिक ८ २०८३
आइतबार, कात्तिक ८ २०८३
  • ५०३ मौसम केन्द्र अब स्वचालित हुँदै

    काठमाडौं — जल तथा मौसम विज्ञान विभागले देशभर रहेका परम्परागत मौसम मापन केन्द्रहरूलाई चरणबद्ध रूपमा स्वचालित केन्द्रमा रूपान्तरण गर्ने भएको छ। सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि सार्वजनिक गरेका दुईवटा श्वेतपत्रमा यो योजना समावेश गरिएको छ।

    श्वेतपत्रअनुसार देशभरका ५०३ वटा म्यानुअल मौसम केन्द्रलाई क्रमशः स्वचालित मापन केन्द्र (एडब्लुएस)मा स्तरोन्नति गरिनेछ। माथिल्लो वायुमण्डलको मौसम मापन गरी डाटाको गुणस्तर र निरन्तरता बढाउन थप छ वटा प्रदेशमा रेडियोसोन्डे केन्द्र स्थापना गरिनेछ। सुर्खेत, पाल्पा र उदयपुरका मौसमी राडार मर्मत गरिने भएको छ भने काठमाडौं उपत्यकाका लागि नयाँ एक्स–ब्यान्ड राडार जडान गर्ने प्रस्ताव गरिएको छ।

    मौसम पूर्वानुमानको शुद्धता र विश्वसनीयता बढाउन कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ (एमएल) र उच्च क्षमताको कम्प्युटिङ प्रणाली (एचपिसी)को प्रयोगलाई प्राथमिकता दिइनेछ। यसका साथै हवाई दुर्घटना न्यूनीकरणका लागि छुट्टै हवाई मौसम निर्देशनालय बनाइने योजना पनि छ।

    विभागले अबदेखि कृषि, पर्यटन, जलस्रोत, सडक निर्माण, हवाई उड्डयन र ऊर्जा क्षेत्रलाई लक्षित गरी दिइने विशिष्टीकृत मौसम तथा जलवायु सेवालाई व्यावसायिक बनाई लागत असुली प्रणाली लागू गर्ने जनाएको छ। तर सार्वजनिक सुरक्षा र अत्यावश्यक पूर्वसूचना सेवा भने सर्वसुलभ र निःशुल्क नै रहने विभागले स्पष्ट पारेको छ।

    श्वेतपत्रमा योजना कार्यान्वयनका लागि पर्याप्त बजेट, दक्ष प्राविधिक जनशक्ति, आधुनिक उपकरणको नियमित मर्मतसम्भार र अन्तर–निकाय समन्वय मुख्य चुनौती रहेको उल्लेख गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार