images

Oct 27 2026 | २०८३, कात्तिक १० गते

फ्यान जोनमा हेर्नुहोस् एनपीएल, प्रवेश निःशुल्क

फ्यान जोनमा हेर्नुहोस् एनपीएल, प्रवेश निःशुल्क

एक्स्ट्रीमले देशका ९ सहरमा १० स्थानमा ठूला एलइडी स्क्रिनमार्फत देखाउने भयो खेल, सङ्गीतसहित मनोरञ्जनको व्यवस्था

आइतबार, कात्तिक ८ २०८३
आइतबार, कात्तिक ८ २०८३
  • फ्यान जोनमा हेर्नुहोस् एनपीएल, प्रवेश निःशुल्क

    काठमाडौं । एक्स्ट्रीम एनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल प्रत्यक्ष हेर्न देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। रङ्गशालासम्म पुग्न नसक्ने क्रिकेटप्रेमीले आफ्नै सहरमा ठूलो स्क्रिनमा खेल हेर्न पाउनेछन्।

    कात्तिक ९ देखि मंसिर ५ सम्म हुने एनपीएलका खेल फ्यान जोनमा ठूला एलइडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। फ्यान जोनमा प्रवेश पूर्ण रूपमा निःशुल्क हुनेछ। कम्पनीका अनुसार यसले क्रिकेटप्रेमीलाई साथीभाइसँग बसेर खेलको मजा लिन, मनपर्ने टिमको समर्थनमा हुटिङ गर्न र प्रतियोगिताको उत्साह सामूहिक रूपमा साटासाट गर्ने अवसर दिनेछ।

    काठमाडौं उपत्यकामा काठमाडौंको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानको दुई नम्बर गेटअगाडिको मैदानमा फ्यान जोन रहनेछन्। त्यसैगरी सुदूरपश्चिमको धनगढीमा कभर्ड हल क्षेत्र, कर्णालीको सुर्खेतमा घण्टाघर डबली, लुम्बिनीको बुटवलमा सिद्धेश्वरी ग्राउन्ड, गण्डकीको पोखरामा मालेपाटन चौर, चितवनमा वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री कलेज परिसर, मधेशको जनकपुरमा बाह्रबिघा चौर र कोशीको विराटनगरमा पुरानो गुठी मैदानमा फ्यान जोन सञ्चालन गरिने छ।

    फ्यान जोनमा खेलको प्रत्यक्ष प्रसारणसँगै सांगीतिक प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि आयोजना गरिनेछ। दर्शकले रमाइला खेलकुद गतिविधिमा सहभागी हुन पाउनेछन् भने गिभअवे कार्यक्रममार्फत आकर्षक उपहार जित्न सक्नेछन्।

    एक्स्ट्रीमका अनुसार एनपीएलप्रतिको बढ्दो उत्साहलाई क्रिकेट मैदानको सीमाभन्दा बाहिर पुर्‍याउँदै देशका विभिन्न सहरका समर्थकलाई एउटै माहोलमा जोड्ने उद्देश्यले यो पहल गरिएको हो। मैदानमा खेलाडीबीच प्रतिस्पर्धा चलिरहँदा फ्यान जोनमा समर्थकको हुटिङ, उत्साह र सामूहिक खुसीले एनपीएलको रौनक थप्ने अपेक्षा गरिएको छ। क्रिकेट, सङ्गीत र मनोरञ्जनलाई एकै ठाउँमा जोड्ने यी फ्यान जोन प्रतियोगिता अवधिभर क्रिकेटप्रेमीको आकर्षक जमघटस्थल बन्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार