एनपीएलको महाकुम्भ आजदेखि सुरु
एनपीएलको महाकुम्भ आजदेखि सुरु
काठमाडौं, ९ कात्तिक — नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आज सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्। आयोजक नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनको उपस्थिति आइतबार अबेर सुनिश्चित भएको हो।
अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म चल्ने प्रतियोगितामा आठ फ्रेन्चाइज टोली सहभागी छन्, जसमा सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, विराटनगर किङ्स, काठमाडौं गोर्खाज, जनकपुर बोल्ट्स, चितवन राइनोज, पोखरा एभेन्जर्स र कर्णाली याक्स रहेका छन्। सबै खेल काठमाडौंमै हुनेछन्।
आज बेलुका ५ बजे हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले र दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो।
क्यानले यसपटक पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरेको छ। विजेताले १ करोड ५० लाख रुपैयाँ, उपविजेताले ८० लाख रुपैयाँ, तेस्रो स्थानको टोलीले ४० लाख र चौथो स्थानको टोलीले ३० लाख रुपैयाँ पाउनेछन्। शीर्ष चार टोलीका लागि मात्रै कुल ३ करोड रुपैयाँ छुट्याइएको छ।
यस संस्करणमा आइसीसीको आधिकारिक मान्यता, निर्णय पुनरावलोकन प्रणाली (डिआरएस)को प्रयोग, विदेशी खेलाडी अनुबन्ध प्रक्रियामा सहजता र कीर्तिपुर मैदानको स्तरोन्नति प्रमुख विशेषता रहेका छन्। क्यानले यसपटक प्रसारण र टिकट बिक्री अधिकारबाटै ३३ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ।
प्रधानमन्त्री शाहले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सव र 'महाकुम्भ'को संज्ञा दिँदै सहभागी अन्तर्राष्ट्रिय खेलाडी, आयोजक र क्यानलाई शुभकामना दिएका छन्। "लङ लिभ नेपाली क्रिकेट" भन्दै उनले नेपाली क्रिकेटप्रति शुभेच्छा व्यक्त गरेका छन्।
