फ्रान्सदेखि सर्बियासम्म: जेनजीको आक्रोश किन सल्किँदै छ?
फ्रान्सदेखि सर्बियासम्म: जेनजीको आक्रोश किन सल्किँदै छ?
जेनजीको आक्रोश किन सल्किँदै छ?
काठमाडौं, १६ कात्तिक — युरोपभर नयाँ पुस्ता (जेनेरेसन–जी) का युवा शिक्षामा बजेट कटौती, आवासको बढ्दो मूल्य, बेरोजगारी, जीवनयापन खर्च र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका छन्। बंगलादेशमा २०२४ र नेपालमा २०२५ मा युवाले नेतृत्व गरेका आन्दोलनपछि यसै वर्ष युरोपका धेरै देशमा त्यस्तै असन्तोष देखिएको छ।
फ्रान्समा सेप्टेम्बरको अन्त्यदेखि सुरु भएको आन्दोलन तेस्रो सातामा प्रवेश गरेको छ। इटालीमा देशव्यापी आमहडतालसँगै हजारौं विद्यार्थी र श्रमिक सडकमा उत्रिए। जर्मनीका ३४ भन्दा बढी सहरमा जेनजी प्रदर्शन भएको छ, जहाँ केही स्थानमा तोडफोड र झडप भएका छन् भने आयोजकले हिंसाको निन्दा गरेका छन्। ग्रिसमा हजारौं विद्यार्थी सडकमा उत्रिएका छन् भने सर्बिया र अल्बानियामा भ्रष्टाचारविरुद्ध सुरु भएको आन्दोलन सरकार परिवर्तनको मागतिर पुगेको छ।
आन्दोलनका मुख्य कारण शिक्षा र आवास संकट हुन्। विश्वविद्यालयमा लगानी नपुग्ने गुनासोसँगै भाडा र घर किन्ने खर्च अत्यधिक बढेको छ। रोममा अध्ययनरत एक विद्यार्थीले आफू र भाइले साझा कोठाको भाडा जुटाउनै हम्मेहम्मे परेको बताएकी छन्। इटालीका प्रदर्शनकारीले स्पेनका आवास आन्दोलनबाट प्रेरणा लिएको जनाएका छन्।
अन्य कारणमा अनिश्चित रोजगारी र कृत्रिम बुद्धिमत्ता (एआई)को विस्तार पर्छन्, जसले करिअरको सुरुवाती चरणका कामदारका अवसर घटाउने चिन्ता बढाएको छ। सन् २०२५ को युरोपेली सङ्घको सर्वेक्षणअनुसार १६ देखि ३० वर्षका ४० प्रतिशत युवा जीवनयापनको लागतबारे चिन्तित छन्।
विश्लेषकका अनुसार देशैपिच्छे आन्दोलनका कारण फरक भए पनि साझा भावना भनेको आफ्ना अभिभावकले पाएका अवसर आफूले नपाउने हो कि भन्ने चिन्ता र राजनीतिले अर्को पुस्ताको अपेक्षा पूरा गर्न नसकेको अनुभूति हो। 'युरोपियन करेस्पोन्डेन्ट'का सहसंस्थापक जुलियस फिन्टेलम्यानका अनुसार यी विरोधले युवामा थुप्रिएको निराशा प्रकट गर्छन्। यसले दबाबमा रहेका युरोपेली सरकारका लागि ठूलो चुनौती खडा गरेको छ।
