शिक्षा र खेलमा अमेरिकी सहकार्य बढाउने छलफल
शिक्षा र खेलमा अमेरिकी सहकार्य बढाउने छलफल
नेपालका लागि अमेरिकी चार्जे डि'अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलबीच शिष्टाचार भेटवार्ता भएको छ। शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा आपसी शैक्षिक सहकार्य र खेल कूटनीतिबारे छलफल भयो।
भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षबारे कुराकानी भए पनि मुख्य रूपमा शिक्षा क्षेत्रको लामो समयदेखिको सहकार्यलाई आगामी दिनमा थप प्रगाढ र प्रभावकारी बनाउने विषयमा केन्द्रित रह्यो।
कार्यवाहक राजदूत बोल्डिनले हालैको भोटेकोशी बाढी र त्यसले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै अमेरिका नेपालको कठिन परिस्थितिमा सधैं साथमै रहेको र रहने बताइन्। उनले नेपालको विकासका लागि अमेरिकी सहयोग निरन्तर रहने प्रतिबद्धता पनि जनाइन्।
मन्त्री पोखरेलले अमेरिकाले नेपालको समग्र विकास, विशेषगरी शिक्षा क्षेत्रमा पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद दिए। नेशनल अर्ली ग्रेड रिडिङ प्रोग्राम र नेशनल अर्ली ग्रेड लर्निङ प्रोग्राम जस्ता कार्यक्रममा अमेरिकी सहयोग रहेको स्मरण गर्दै उनले यी कार्यक्रमले आधारभूत शिक्षा सुधारमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले आगामी दिनमा विद्यार्थी, विश्वविद्यालयका फ्याकल्टी सदस्य र प्राध्यापकको एक्सचेन्ज प्रोग्राममा विशेष जोड दिनुपर्ने विषय उठाए। अमेरिकी सरकारको सहयोगमा सञ्चालित फुलब्राइट छात्रवृत्ति कार्यक्रम निरन्तर रहेको र यसले जनशक्ति विकासमा योगदान पुर्याउने विषयमा पनि छलफल भयो।
भेटमा खेलकुद कूटनीतिबारे पनि कुरा भयो। सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिक तथा प्याराओलम्पिकलाई लक्षित गर्दै अमेरिकी विशेषज्ञता, तालिम, खेलाडी विकास र खेल व्यवस्थापनमा नेपाली खेलाडी तथा प्रशिक्षकलाई कसरी सहयोग उपलब्ध गराउन सकिन्छ भन्नेबारे छलफल भयो। बोल्डिनले खेलकुद क्षेत्रमा अमेरिकी अनुभव र सीप नेपालका लागि उपयोगी हुन सक्ने बताइन् भने मन्त्री पोखरेलले यस क्षेत्रमा सहकार्य बढाउन सकिने सम्भावनामा जोड दिए।
भेटको अन्त्यमा दुवै पक्षले शिक्षा क्षेत्रको ऐतिहासिक सहकार्यलाई थप सुदृढ बनाउँदै विद्यार्थी तथा शिक्षकबीचको एक्सचेन्ज प्रोग्रामलगायत कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
