नेपाल–भारत सम्बन्धमा जनता र युवाको भूमिकामा जोड
नेपाल–भारत सम्बन्धमा जनता र युवाको भूमिकामा जोड
द्विपक्षीय सम्बन्धमा जनता र युवाको भूमिका, प्रविधि सहकार्य र प्रधानमन्त्रीको अपेक्षित भारत भ्रमणबारे वक्ताहरूको जोड
ललितपुर। नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (नाइस नेपाल) र सेन्टर फर पिस स्टडिज (सी.पी.एस) को संयुक्त आयोजनामा 'नेपाल–भारत सम्बन्धका बदलिँदा आयाम' विषयक छलफल कार्यक्रम सोमबार १६ नोभेम्बर २०२६ मा सम्पन्न भएको छ। ललितपुरको हात्तीवनस्थित नाइस नेपालको सेमिनार हलमा भएको कार्यक्रममा नेपाल–भारत सम्बन्धको विकसित स्वरूप तथा क्षेत्रीय र रणनीतिक परिदृश्यमा आएका परिवर्तनबारे विज्ञ र सरोकारवालाले विचारविमर्श गरे।
कार्यक्रममा सी.पी.एसका अध्यक्ष डा. अशोक के. बेहुरिया, सी.पी.एसका आजीवन सदस्य तथा दिल्ली विश्वविद्यालयका डा. निहार नायक, प्रविधि उद्यमी सिक्सित भट्ट र नाइस नेपालका कार्यक्रम संयोजक तथा अनुसन्धान सहायक विवेक ध्वज थापाले वक्ताका रूपमा आफ्ना विचार राखे।

डा. बेहुरियाले नेपाल–भारत सम्बन्धलाई राज्यकेन्द्रित र सुरक्षामुखी दृष्टिकोणबाट मात्र हेर्ने परम्परा तोडेर जनतालाई द्विपक्षीय सम्बन्धका प्रमुख सरोकारवालाका रूपमा स्वीकार्नुपर्नेमा जोड दिए। भारतको विदेश नीतिको ऐतिहासिक विकासक्रमको चर्चा गर्दै उनले औपनिवेशिक विरासतले सम्बन्धमा पारेको प्रभाव र त्यसबाट क्रमशः बाहिर निस्किँदै छिमेकीप्रति बढी समावेशी दृष्टिकोण अपनाइएको प्रक्रियामा प्रकाश पारे। गुजराल सिद्धान्तले अघि सारेको प्रतिफलको अपेक्षाविनाको सहयोगको अवधारणा उल्लेख गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको बदलिँदो दृष्टिकोणबारे पनि चर्चा गरे। क्षेत्रीय स्थायित्व र विकास छिमेकीसँगको पारस्परिक हितमा आधारित सम्बन्धमा निर्भर रहने मान्यताको महत्त्व बढ्दै गएको उनको भनाइ थियो।
डा. निहार नायकले नेपालका प्रधानमन्त्रीको अपेक्षित भारत भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए। उनले विकास, पूर्वाधार, डिजिटल कनेक्टिभिटी र विपद् व्यवस्थापनमा सहकार्यका अवसर औँल्याए। सीमा विवाद, गोर्खा भर्ती, पञ्चेश्वर परियोजना, हवाई सम्पर्क र गैरभन्सार अवरोधजस्ता लामो समयदेखिका चुनौतीबारे पनि उनले चर्चा गरे। उक्त भ्रमणले नेपाललाई आफ्ना विकास प्राथमिकता भारतसमक्ष स्पष्ट रूपमा राख्ने र आपसी विश्वास तथा सहकार्य बढाउने अवसर दिन सक्ने उनले बताए।

प्रविधि उद्यमी भट्टले अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वभौमिकता र सुरक्षालाई आकार दिन प्रविधिको महत्त्व बढ्दै गएको उल्लेख गरे। सेमिकन्डक्टर आपूर्ति शृङ्खला र आर्टिफिसियल इन्टेलिजेन्सजस्ता महत्त्वपूर्ण प्रविधिगत पूर्वाधारमाथि सीमित नियन्त्रण भएकाले नेपाल र भारत दुवै जोखिममा रहेको उनको धारणा थियो। कृत्रिम बौद्धिकता, साइबर सुरक्षा र डिजिटल पूर्वाधारमा सहकार्य बढाउनुपर्ने उनले जोड दिए। दुवै देशबीचको सम्बन्ध प्रविधि प्राप्त गर्ने वा प्रयोग गर्ने तहमा सीमित नराखी संयुक्त रूपमा प्रविधि विकास गर्ने सहकार्यमा रूपान्तरण हुनुपर्ने उनको सुझाव थियो।

नाइस नेपालका कार्यक्रम संयोजक थापाले नेपाल र भारत दुवै देशको कुल जनसङ्ख्याको करिब ५० देखि ६० प्रतिशत हिस्सा युवाले ओगटेको उल्लेख गर्दै युवाको सहभागिताविना द्विपक्षीय सम्बन्ध अघि बढ्न नसक्ने बताए। सम्बन्धको भविष्य निर्माणमा युवाका विचार र आवाजलाई महत्त्व दिनुपर्ने उनको जोड थियो। नेपालका वर्तमान युवाले अघिल्ला पुस्ताले अनुभव गरेको शीतयुद्धकालीन मनोवैज्ञानिक त्रास र त्यससँग जोडिएको दृष्टिकोण नबोकेको भन्दै उनले युवा कुनै पनि भूराजनीतिक प्रतिस्पर्धा वा शक्ति संघर्षमा नअल्झी आफ्नो देशको विकास हेर्न चाहने बताए।
कार्यक्रमको अन्त्यमा आपसी आदानप्रदान र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले नाइस नेपाल र सी.पी.एसबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।


