अस्ताउँदो सूर्यलाई अर्घ्य, छठको रौनक
अस्ताउँदो सूर्यलाई अर्घ्य, छठको रौनक
लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यस पर्वका व्रतालु शनिबार राति खरना विधि सम्पन्न गरेसँगै निराहार व्रतमा छन्।
मिथिलाञ्चलमा चार दिनसम्म मनाइने छठ पर्व गत शुक्रबार कात्तिक शुक्ल चतुर्थीका दिन 'नहाय–खाय' विधिबाट सुरु भएको हो। कात्तिक शुक्ल पञ्चमीका दिन दिनभर उपवास बसेर राति सख्खरमा पकाइएको खिर इष्टदेवलाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने विधिलाई 'खरना' भनिन्छ। खरनापछि व्रतालुको निराहार व्रत सुरु हुने परम्परा छ।
भगवान् सूर्य र छठी देवीको आराधना गरिने यस पर्वमा आज साँझ पवित्र जलाशयमा बनाइएका घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिइन्छ, जसलाई मिथिलामा 'सझियाअरख' वा 'सझियाघाट' भनिन्छ। अर्घ्यका लागि घरघरमा ठकुवा, भुसुवालगायत मिष्ठान्न परिकार तयार गरिएका छन्। व्रतालुले जटासहितको नरिवल, केरा तथा अन्य फलफूल र प्रसादका सामग्री सूर्यदेवलाई अर्पण गर्नेछन्।
साँझको अर्घ्यपछि व्रतालु रातभर जलाशय किनारमा बसेर छठी देवी र सूर्यको महिमासम्बन्धी गीत गाउँछन्। भोलिपल्ट सोमबार बिहान सूर्योदयअघि नै जलाशयमा कम्मरसम्म डुबेर बसेका व्रतालुले उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने पर्व सम्पन्न हुन्छ। मिथिलामा बिहानको यो विधिलाई 'भोरका अरख' वा 'पारन' भनिन्छ।
सूर्य र छठी देवीको उपासनाबाट मनोकामना पूरा हुने, सुख–समृद्धि प्राप्त हुने, सन्तानबाट सुख मिल्ने र रोगव्याधिबाट मुक्ति पाइने जनविश्वास छ। छठ पर्वका अवसरमा आज र भोलि (कात्तिक ३० गते) गरी दुई दिन सार्वजनिक बिदा दिइएको छ। प्रधानमन्त्री बालेन शाह, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति गगन थापाले छठको शुभकामना दिँदै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बलियो हुने बताएका छन्। रौतहटमा छठको सुरक्षाका लागि ६१० प्रहरी परिचालन गरिएको छ।
एभरेष्ट हेडलाइन्स परिवारको तर्फबाट छठ पर्व मनाउने सम्पूर्ण व्रतालु, मिथिलाञ्चलवासी तथा देश–विदेशमा रहेका सबै नेपालीमा छठ पर्वको हार्दिक मंगलमय शुभकामना। छठी माताले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्य प्रदान गरून्।
जय छठी मैया! शुभ छठ २०८३!
