images

Nov 17 2026 | २०८३, मंसिर १ गते

टर्कीका हरित विद्यालय हेर्न पुगे मन्त्री पोखरेल, बालमैत्री शिक्षाप्रति चासो

टर्कीका हरित विद्यालय हेर्न पुगे मन्त्री पोखरेल, बालमैत्री शिक्षाप्रति चासो

कोप–३१ मा सहभागी हुन एन्टाल्या पुगेका शिक्षामन्त्रीले बालविकास केन्द्रमा शून्य फोहोर र प्रयोगात्मक सिकाइको अवलोकन गरे

सोमबार, कात्तिक ३० २०८३
सोमबार, कात्तिक ३० २०८३
  • टर्कीका हरित विद्यालय हेर्न पुगे मन्त्री पोखरेल, बालमैत्री शिक्षाप्रति चासो

    काठमाडौँ, ३० कात्तिक। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीको एन्टाल्या पुग्नुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सम्मेलनको औपचारिक कार्यक्रमसँगै आयोजक राष्ट्रको शैक्षिक अभ्यास र ‘हरित विद्यालय’ मोडलको स्थलगत अवलोकन गर्नुभएको छ।

    टर्कीका राष्ट्रिय शिक्षामन्त्री युसुफ तेकिनले नेपाली समकक्षी पोखरेललाई स्थानीय शैक्षिक संस्थाहरूको अवलोकन गराएका थिए। अवलोकनका क्रममा पोखरेलले टर्कीको बालमैत्री, प्रकृतिमैत्री र प्रयोगात्मक सिकाइ प्रणालीप्रति चासो राख्दै त्यसका व्यवस्थापकीय पक्षबारे सूक्ष्म जानकारी लिए।

    दुवै देशका शिक्षामन्त्री एन्टाल्याको मुरातपासा जिल्लास्थित ‘१५ जुलाई सहिद बालविकास केन्द्र’ (किन्डरगार्टन) पुगेका थिए। भ्रमणमा टर्कीको सत्तारुढ एके पार्टीका प्रान्तीय अध्यक्ष अली चेतिन, प्रान्तीय शिक्षा निर्देशक मेहमेत यासिन एरिस तथा युनेस्को र ओईसीडी लगायतका अन्तर्राष्ट्रिय निकायका उच्च प्रतिनिधिको पनि सहभागिता थियो।

    मन्त्री पोखरेलले औपचारिक कक्षाकोठाभन्दा बाहिर निस्किएर सानै उमेरदेखि बालबालिकालाई प्रकृति, वातावरण संरक्षण र दिगो विकासको जीवनशैलीसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा विशेष जिज्ञासा राखे। उनले विद्यालय परिसरमा सञ्चालित कार्यशाला तथा बिरुवा उत्पादन क्षेत्रको निरीक्षण गर्दै बालबालिकाले तयार पारेका ‘शून्य फोहोर’ (Zero Waste) परियोजना, पुनः प्रयोग (रिसाइकल) अभ्यास र मिनी ग्रीनहाउसमा गोलभेँडालगायतका तरकारी तथा बिरुवा उमारिएको प्रयोगात्मक विधिबारे शिक्षक तथा विद्यालय प्रशासनसँग विस्तृत जानकारी लिए।

    सोही अवसरमा तेकिन र पोखरेलले शिक्षक तथा अभिभावकसँग संवाद गर्दै पूर्व-प्राथमिक र सामुदायिक विद्यालय सञ्चालनका व्यावहारिक अनुभव, पूर्वाधारको आवश्यकता र अभिभावक–विद्यालय सहकार्यका अभ्यासबारे छलफल गरे। भ्रमणका क्रममा बालविकास केन्द्रका साना विद्यार्थीले अतिथिको स्वागतमा परम्परागत टर्किस लोक नृत्य प्रस्तुत गरे। दुवै मन्त्रीले बिरुवा रोप्ने र सांस्कृतिक प्रस्तुति दिने बालबालिकाको सिर्जनशीलताको प्रशंसा गर्दै उनीहरूसँग भलाकुसारी पनि गरे।

    अवलोकनपछि मन्त्री पोखरेलले सानै उमेरदेखि बालबालिकामा प्रकृतिप्रतिको प्रेम, शून्य फोहोरको बानी र जलवायु सचेतना जगाउन सके नयाँ पुस्ता स्वतः वातावरणमैत्री र विपद् उत्थानशील बन्ने धारणा राखे। नेपालमा पनि पूर्व-प्राथमिक तथा विद्यालय तहको शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी प्रकृति, व्यवहार र स्थानीय परिवेशसँग जोड्ने गरी काम भइरहेको उनले बताए। टर्कीको यो मोडलबाट पनि कतिपय कुरा सिक्न सकिने उनको निष्कर्ष थियो।

    नेपालमा भौतिक पूर्वाधारको वैज्ञानिक मूल्याङ्कनसँगै ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गरी विद्यालय तहको पाठ्यक्रममै जलवायु परिवर्तन र विपद् व्यवस्थापनको शिक्षा समावेश गर्ने प्रक्रिया अघि बढिसकेको छ। यस सन्दर्भमा टर्किस समकक्षीसँगको भेटघाट, स्थलगत अवलोकन र अनुभव आदानप्रदानले नेपालको विद्यालय शिक्षा सुधार र हरित विद्यालय निर्माणमा थप टेवा पुग्ने विश्वास मन्त्री पोखरेलले व्यक्त गरेका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार