धौवादी फलाम खानीबाट ९ करोड ६० लाख टन धाउ उत्खननको योजना
धौवादी फलाम खानीबाट ९ करोड ६० लाख टन धाउ उत्खननको योजना
९ करोड ६० लाख टन धाउ उत्खननको योजना
नवलपुर । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपुरको हुप्सेकोट गाउँपालिका-५, धौवादीमा रहेको फलाम खानी उत्खननसम्बन्धी योजना तयार गरेको छ । कम्पनीले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट नौ करोड ६० लाख टन धाउ फलाम उत्खनन गर्न सकिने योजनासहितको प्रतिवेदन खानी तथा भू-गर्भ विभागमा बुझाएको हो ।
खानी क्षेत्रलाई धौवादी पोखरी ब्लक र दुर्लुङ ब्लक गरी दुई भागमा विभाजन गरिएको छ । धौवादी पोखरी ब्लक २५ वर्ग किलोमिटर तथा दुर्लुङ ब्लक १६ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । उक्त योजना स्वीकृत भएपछि कम्पनीले फलामको भण्डारसम्बन्धी थप अनुसन्धान तथा उत्खनन कार्य अघि बढाउने जनाएको छ । नेपालमा फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले धौवादी फलाम कम्पनी लिमिटेड स्थापना गरिएको हो ।
कम्पनीका निर्देशक शैलेशकुमार थापाका अनुसार जमिनमुनिको फलामको नमुना परीक्षणका लागि विभिन्न १२ स्थानमा गरी एक हजार ५०० मिटर ड्रिलिङ कार्य सम्पन्न गरिएको छ । हाल वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कामसमेत छिट्टै सुरु गरिने कम्पनीले जनाएको छ ।
खानी सञ्चालनमा आएपछि उत्पादित फलामजन्य वस्तुले मुलुकको समग्र मागको करिब २५ प्रतिशत आयात प्रतिस्थापन गर्न सक्ने अपेक्षा निर्देशक थापाले व्यक्त गरे । खानी सञ्चालनबाट ठूलो संख्यामा रोजगारी सिर्जना भई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने उहाँको विश्वास छ । खानीसम्म पुग्न आवश्यक पूर्वाधार निर्माण तथा सडक स्तरोन्नतिको काम पनि भइरहेको कम्पनीले जनाएको छ ।
