"देश तपाईंसँगै छ": प्रधानमन्त्री बाढीपीडितका बीच विदुरमा
"देश तपाईंसँगै छ": प्रधानमन्त्री बाढीपीडितका बीच विदुरमा
प्रधानमन्त्री बाढीपीडितका बीच विदुरमा
काठमाडौं — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र खोज-उद्धार कार्य प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बिहीबार बिहान नुवाकोटको विदुर पुगेका छन्।
प्रधानमन्त्री शाह र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल बिहान ९:३० बजे सडकमार्गहुँदै बाढी प्रभावित मुख्य क्षेत्रमध्ये एक विदुरतर्फ प्रस्थान गरेका थिए। विदुर पुगेपछि प्रधानमन्त्री शाह विदुर नगरपालिकास्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ब्रिफिङमा सहभागी भए, जहाँ बाढीबाट भएको क्षति, उद्धार तथा राहत कार्यको हालसम्मको प्रगतिबारे जानकारी लिइयो।
बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। निरीक्षणका क्रममा उनले घाइतेहरूसँग भेट गर्दै उनीहरूको हालचाल बुझ्नुका साथै उपचार र राहतको अवस्थाबारे स्थानीय स्वास्थ्यकर्मी तथा प्रशासनसँग जानकारी लिने कार्यक्रम रहेको छ।
बुधबार रसुवाको भोटेकोशीबाट आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका छन्। बाढी आउनासाथ उनले उच्चस्तरीय बैठकहरू आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायलाई आवश्यक निर्देशन दिँदै निरन्तर सहजीकरण गर्दै आएका छन्।
यसअघि प्रधानमन्त्री शाहले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका संघीय सांसदहरूसँग बाढीबाट भएको क्षति, तटीय क्षेत्रका बस्तीको अवस्था तथा उद्धार र राहत कार्यबारे छलफल गरेका थिए। भेटमा सांसदहरूले आ-आफ्नो क्षेत्रमा बाढीले पुर्याएको असर र तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। यसअघि नै प्रधानमन्त्रीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाई बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था र प्रगतिबारे जानकारी लिइसकेका थिए।
सामाजिक सञ्जाल फेसबुकमार्फत जारी सन्देशमा प्रधानमन्त्री शाहले रसुवा बाढीका कारण ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई सरकार सधैं साथमा रहने बताएका थिए। "बाढीमा हराइरहेका नागरिकहरूको खोजतलाशलाई अझ तीव्र पारिनेछ। घाइतेहरूको पूर्ण विवरण र बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण संकलन गरिनेछ। आज रातभर पनि उद्धार कार्य जारी नै रहनेछ," उनले भनेका थिए। उनका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित क्षेत्रमा पर्छन्।
प्रधानमन्त्रीको यो स्थलगत भ्रमणले सरकार बाढी प्रभावित नागरिकको उद्धार, उपचार र पुनःस्थापनामा प्रत्यक्ष रूपमा संलग्न रहेको सन्देश दिएको छ। विदुरको निरीक्षणपछि प्रधानमन्त्री अन्य प्रभावित क्षेत्रको अवस्थाबारे पनि थप जानकारी लिने कार्यक्रम रहेको छ।