एनआरएनएको भोटेकोशी बाढी राहत अभियान निरन्तर, ४ करोड ३८ लाखभन्दा बढी रकम संकलन
एनआरएनएको भोटेकोशी बाढी राहत अभियान निरन्तर, ४ करोड ३८ लाखभन्दा बढी रकम संकलन
४ करोड ३८ लाखभन्दा बढी रकम संकलन
काठमाडौं, २०८३ असोज १ – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरू आज २२औं दिनमा पनि निरन्तर जारी रहेको छ।
भोटेकोशी बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–३, डाँडागाउँका बासिन्दालाई लक्षित गर्दै आज पनि स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी रसुवासँगको समन्वय र स्थानीय स्वास्थ्य चौकीको सहजीकरणमा उक्त शिविर सञ्चालन गरिएको हो। एनआरएनए ग्लोबल स्वास्थ्य विभागकी सहसंयोजक प्रसुना कँडेलको नेतृत्वमा खटिएको चिकित्सक टोलीले प्रभावित क्षेत्रका बासिन्दाहरूको स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण तथा परामर्श सेवा प्रदान गरेको थियो। उक्त स्वास्थ्य टोलीमा डा. कावेरी कार्की, डा. शोभित गुरुङ र हरि कोजु सहभागी हुनुहुन्थ्यो।

शिविरमा विशेषगरी रुघाखोकी, श्वासप्रश्वास, एलर्जी र विभिन्न दीर्घरोगबाट पीडित बिरामीहरूको जाँच गरिनुका साथै आवश्यकताअनुसार मनोसामाजिक परामर्शसमेत उपलब्ध गराइएको थियो। यस शिविरबाट ३ सयभन्दा बढीले लाभान्वित भएका छन्। यसैबीच, विपद् प्रभावित क्षेत्रको स्वास्थ्य सेवालाई थप टेवा पुर्याउन एनआरएनएको तर्फबाट स्थानीय स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री, औषधि र ह्विलचियरसमेत हस्तान्तरण गरिएको छ।
एनआरएनए र SikhAid Charitable Trust, भारत बीच भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि राहत तथा मानवीय सहायता उपलब्ध गराउने विषयमा छलफल भएको छ। एनआरएनए सचिवालय, बालुवाटारमा भएको छलफलमा SikhAidले भर्खरै एनआरएनएले स्थलगत निरीक्षणका क्रममा देखेको अवस्था, बाढी प्रभावित क्षेत्रमा देखिएका तात्कालीन आवश्यकता, राहत सामग्री ढुवानी तथा वितरणका क्रममा देखिएका चुनौती र आगामी दिनमा राहत तथा पुनर्स्थापनाका लागि गर्न सकिने सहकार्यका विषयमा चासो राखेको थियो।

उक्त चासोलाई सम्बोधन गर्दै भर्खरै प्रभावित क्षेत्रको स्थलगत निरीक्षणबाट फर्किनुभएका एनआरएनएका महिला उपाध्यक्ष राधिका गुरुङ (टिका), प्रवक्ता सोम सापकोटालगायतले आफ्नो स्थलगत अनुभव र सुझाव प्रस्तुत गर्नुभएको थियो। छलफलमा भारतबाट आजै नेपाल आइपुगुभएका SikhAid का संस्थापक रौनक सिंहसहित नब्जोत सिंह, परमजित सिंह तथा नेपालबाट राहत अभियानमा संलग्न स्वयंसेवकहरू सहभागी थिए।
SikhAidले सन् २०२० देखि विपद् राहत, स्वास्थ्य सहायता, खाद्य सहयोग, शिक्षा, महिला सशक्तीकरण, जीविकोपार्जन तथा समुदाय विकासका क्षेत्रमा काम गर्दै आएको जनाएको छ। हाल SikhAidले Nepal Flood Relief 2026 अभियान सञ्चालन गरिरहेको छ।

भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिबद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको छ। पदाधिकारीहरू, विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) तथा विदेशमा विभिन्न संघ संस्था र नेपालीहरूको व्यक्तिगत तर्फबाट ४,३८,६९,२७१.३३ रुपैयाँ सहयोग कोषमा जम्मा भएको छ। संघका कोषाध्यक्ष तथा सम्बन्धित प्रतिनिधिहरूमार्फत निरन्तर समन्वय र पत्राचार भइरहेकोले बाँकी प्रतिबद्धता रकम पनि क्रमशः कोषमा जम्मा हुने क्रममा रहेको छ।
हालसम्म निम्नलिखित राष्ट्रिय समन्वय परिषद्ले देहायअनुसार आर्थिक सहयोग संकलन गरी केन्द्रीय कोषमा जम्मा गरिसकेका छन्:
| क्र.सं. | एनसीसी/संस्था | प्राप्त रकम (रुपैयाँ) |
|---|---|---|
| १ | युके (पहिलो चरणमा) | ५३,४३,२४४.२५ |
| २ | बहराइन | २५,७९,३२८.०० |
| ३ | नर्वे | १७,८९,८४२.९६ |
| ४ | ओमान | १३,१५,०००.०० |
| ५ | Stichting Nepal Fonds, Netherlands | १०,५५,१९३.६० |
| ६ | लग्जम्बर्ग | १०,४६,५४८.८६ |
| ७ | साउदी अरेबिया | १०,००,०००.०० |
| ८ | टर्की | ७,५०,३३७.०० |
| ९ | म्यानमार | ६,०१,०००.०० |
| १० | इजरेल | ५,०४,३८५.०० |
| ११ | नेदरल्याण्ड | ५,००,०००.०० |

