BARNको ३०औँ र ३१औँ वार्षिक साधारण सभा सम्पन्न, अनिल घिमिरे अध्यक्षमा निर्वाचित
BARNको ३०औँ र ३१औँ वार्षिक साधारण सभा सम्पन्न, अनिल घिमिरे अध्यक्षमा निर्वाचित
ललितपुर । नेपालस्थित एयरलाइन्स प्रतिनिधिहरूको बोर्ड (Board of Airlines Representatives in Nepal — BARN) को ३०औँ तथा ३१औँ वार्षिक साधारण सभा (AGM) ५ जुन २०२६ मा ललितपुरको बेस्ट वेस्टर्न प्लस गोदावरी ( Best Western Plus Godawari) मा सम्पन्न भएको छ ।
"Resilient Skies, Shared Vision" मूल नाराका साथ आयोजित उक्त सभामा नेपालमा सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय एयरलाइन्सका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सभामा संस्थाको आर्थिक प्रतिवेदन अनुमोदन, विगत गतिविधिहरूको समीक्षा र सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरियो ।
निर्वाचनमा नेपाल एयरलाइन्स कर्पोरेशनका श्री अनिल घिमिरे अध्यक्षमा निर्वाचित भए । इन्डिगोका श्री भोला विक्रम थापा प्रथम उपाध्यक्ष र AOC-N का श्री अभित श्रेष्ठ द्वितीय उपाध्यक्षमा निर्वाचित भए । यस्तै कतार एयरवेजका श्री सरीक बोगटी महासचिव र फ्लाईदुबईका श्री नवराज शाही कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
कार्यसमितिका अन्य सदस्यहरूमा टर्किस एयरलाइन्सका श्री सेरकान बसर, क्याथे प्यासिफिकका सुश्री जुनु मलेकु, चाइना सदर्न एयरलाइन्सका श्री धीरज चन्द्र श्रेष्ठ, थाई एयरवेजका श्री सन्तोष विक्रम राना, मलेसिया एयरलाइन्सकी सुश्री त्रिप्ति क्षेत्री, एमिरेट्सका श्री रमेश लामिछाने र FITS Air का श्री बासु लामिछाने रहेका छन् ।
सभाका क्रममा Verteil Technologies द्वारा New Distribution Capability (NDC) र एयरलाइन रिटेलिङको भविष्यसम्बन्धी विशेष प्रस्तुति पनि गरिएको थियो । सभाको सफल आयोजनामा प्रायोजकका रूपमा Verteil Technologies र Soaltee Group of Companies को सहयोग रहेको थियो ।
नवगठित कार्यसमितिले एयरलाइन्स तथा सरोकारवाला पक्षहरूबीच सहकार्यलाई अझ सुदृढ बनाउँदै नेपालको उड्डयन क्षेत्रको निरन्तर विकास र विस्तारमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
उल्लेखनीय छ कि सन् १९९० मा स्थापित BARN नेपालमा सञ्चालनमा रहेका एयरलाइन्सहरूको छाता संगठन हो, जसले नेपालको उड्डयन क्षेत्रको दिगो विकासका लागि सरोकारवाला निकायहरूसँग निकट सहकार्य गर्दै आएको छ ।

