स्टार्टअप ह्याकाथन भोल्युम IV स्थगित, नयाँ मिति छिट्टै सार्वजनिक गरिने
स्टार्टअप ह्याकाथन भोल्युम IV स्थगित, नयाँ मिति छिट्टै सार्वजनिक गरिने
नोभेम्बर ५ र ६ मा हुने तय भएको २४ घण्टे कार्यक्रम व्यवस्थापकीय र लजिस्टिक समस्याका कारण हाललाई रोकियो
काठमाडौँ। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (TSN) को संयुक्त आयोजनामा नोभेम्बर ५ र ६ मा काठमाडौँ वर्ल्ड स्कुलमा हुने तय भएको २४ घण्टे स्टार्टअप ह्याकाथन भोल्युम IV हाललाई स्थगित गरिएको छ। केही व्यवस्थापकीय तथा लजिस्टिक समस्याका कारण कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएका छन्।
आयोजकका अनुसार कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र सहभागीमैत्री बनाउन आवश्यक तयारी र समन्वयका लागि पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले पूर्वनिर्धारित मिति सारिएको हो। ह्याकाथनको नयाँ मिति र विस्तृत कार्यक्रम तालिका छिट्टै सार्वजनिक गरिनेछ। कार्यक्रममा सहभागी हुन इच्छुक स्टार्टअप, नवप्रवर्तक तथा दर्ता गराइसकेका टोलीलाई नयाँ मितिबारे आधिकारिक जानकारीका लागि आयोजकका सञ्चार माध्यममा जोडिइरहन आग्रह गरिएको छ।
आयोजकले कार्यक्रम स्थगित भए पनि ह्याकाथन आयोजना गर्ने र सम्भावनायुक्त स्टार्टअपलाई राष्ट्रिय स्तरको मञ्च तथा लगानीका अवसरसँग जोड्ने उद्देश्यमा कुनै परिवर्तन नभएको स्पष्ट पारेका छन्। सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपाल नवप्रवर्तन, युवा उद्यमशीलता र स्टार्टअप इकोसिस्टमको विकासका लागि प्रतिबद्ध रहेको उनीहरूको भनाइ छ। स्थगनले सहभागी र सरोकारवालालाई परेको असुविधाप्रति आयोजकले क्षमा मागेका छन् र सबैको सहयोग, समझदारी तथा निरन्तरताको अपेक्षा गरेका छन्।
थप जानकारीका लागि द स्टार्टअप नेटवर्क नेपाल (TSN) लाई व्हाट्सएप नम्बर ९८४३८७२८७० मा सम्पर्क गर्न सकिनेछ।
