Aug 17 2026 | २०८३, भदौ १ गते

शिक्षामन्त्री पोखरेल र इयू राजदूत लोरेन्जोबीच शिष्टाचार भेट, शिक्षा सुधारमा सहकार्य विस्तारमा जोड

शिक्षामन्त्री पोखरेल र इयू राजदूत लोरेन्जोबीच शिष्टाचार भेट, शिक्षा सुधारमा सहकार्य विस्तारमा जोड

शिक्षा सुधारमा सहकार्य विस्तारमा जोड

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १ २०८३
  • शिक्षामन्त्री पोखरेल र इयू राजदूत लोरेन्जोबीच शिष्टाचार भेट, शिक्षा सुधारमा सहकार्य विस्तारमा जोड

    काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि युरोपेली संघ (इयू) की राजदूत भेरोनिक लोरेन्जोबीच सोमबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा नेपाल र इयूबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको हालको सहकार्य र भविष्यमा थप विस्तार गर्न सकिने क्षेत्रहरूबारे दुवै पक्षबीच विस्तृत छलफल भएको थियो।

    images

    भेटका क्रममा मन्त्री पोखरेलले विद्यालय शिक्षालाई सुदृढ बनाउन मन्त्रालयले हाल विभिन्न नीतिगत र संरचनागत सुधारका कार्यक्रम अघि बढाइरहेको बताए। यससम्बन्धी महत्वपूर्ण नीतिगत आधारका रूपमा शिक्षा ऐन तथा प्राविधिक एवं व्यावसायिक शिक्षा ऐनलाई अगाडि बढाइएको जानकारी उनले दिए। साथै, यी ऐनहरूमा आवश्यक सुधार गर्नुपर्ने विषयवस्तुलाई पनि समेटिने उनले स्पष्ट पारे।

    मन्त्रीका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको काम पनि अहिले क्रियाशील अवस्थामा रहेको छ। यसका अतिरिक्त प्राविधिक तथा व्यावसायिक शिक्षा क्षेत्रमा सुशासन सुधार, कार्यकारी भूमिकासम्बन्धी हालको अस्पष्टता अन्त्य गर्ने प्रयास, शिक्षकहरूको पेसागत क्षमता विकास तथा डिजिटल शिक्षाको प्रवर्द्धनजस्ता क्षेत्रमा पनि मन्त्रालय सक्रिय रहेको उनले उल्लेख गरे। यी सुधारका पहलहरूमा उपयुक्त सन्दर्भ मिलेमा इयूसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको मन्त्री पोखरेलले जनाए।

    WhatsApp Image 2026-08-17 at 16.33.59.jpeg
    undefined

    मन्त्री पोखरेलले प्रारम्भिक बाल विकास (इसिडी) मा कार्यरत शिक्षकहरूलाई बालबालिकामा अटिजमको प्रारम्भिक पहिचान तथा स्क्रिनिङसम्बन्धी तालिम प्रदान गर्ने कार्यलाई पनि मन्त्रालयले उच्च प्राथमिकतामा राखेको बताए। यस क्षेत्रमा इयूसँग भइरहेको सहकार्यलाई आगामी दिनहरूमा निरन्तरता दिने विश्वास समेत उनले व्यक्त गरे।

    भेटवार्ताका क्रममा राजदूत लोरेन्जोले नेपालको शिक्षा क्षेत्रसँगको सहकार्यलाई इयूले आफ्ना प्रमुख प्राथमिकताहरूमध्ये एक मानेको स्पष्ट पारे। हालसम्म शिक्षा क्षेत्रमा प्रदान गर्दै आएको सहयोगलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता उनले दोहोर्‍याए।

    राजदूत लोरेन्जोले थप जानकारी दिँदै इयूले नेपालको शिक्षा क्षेत्रको सन् २०२८ देखि २०३४ सम्मको दीर्घकालीन सुधारका लागि आवश्यक फ्रेमवर्क तयार पार्ने काममा हाल संलग्न रहेको बताए। यस फ्रेमवर्कले विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, डिजिटल शिक्षा तथा शिक्षकको पेसागत विकाससहितका क्षेत्रलाई समेट्ने र यी सबै क्षेत्रमा आगामी दिनमा नेपालसँग सहकार्य विस्तार गर्न इयू तत्पर रहेको उनले प्रस्ट पारे।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट