मेनपावर व्यवसायीको आन्दोलन चरम, वैदेशिक रोजगारीका सबै प्रक्रिया र श्रमिक उडान पूर्ण ठप्प
मेनपावर व्यवसायीको आन्दोलन चरम, वैदेशिक रोजगारीका सबै प्रक्रिया र श्रमिक उडान पूर्ण ठप्प
काठमाडौं, भदौ २। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँगको माग सम्बोधन नभएको आरोप लगाउँदै भदौ १ गते सोमबारदेखि देशभरका सबै म्यानपावर कम्पनीको सेवा पूर्ण रूपमा ठप्प पारेको छ। संघका महासचिव हिराबहादुर डाँगीका अनुसार वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम-कारोबार तथा श्रमिकको विदेश उडान समेत पूर्णरूपमा बन्द गराइएको छ, जसका कारण श्रम स्वीकृति र भिसा लिइसकेका कामदार पनि हाल विदेश जान नपाउने अवस्थामा पुगेका छन्।
संघका अनुसार यो कदम साउन ७ गते सम्पन्न बृहत् व्यवसायी भेलाको म्यान्डेट र साउन २२ गते पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको चरणबद्ध संघर्षकै कार्यक्रमअनुसार उठाइएको हो। यसअघि नै संघले पूर्व-अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोकिसकेको थियो। श्रम स्वीकृति लिइसकेका कामदारलाई वैदेशिक रोजगारीमा पठाउन दिइएको समयसीमा भदौ १ गतेबाटै समाप्त भएको संघले जनाएको छ, जसपछि देशभरका मुख्य तथा शाखा कार्यालय पूर्ण रूपमा बन्द गरिएको हो।
संघले आन्दोलनका क्रममा आफ्नो निर्णयविपरीत गई श्रमिक पठाउने कुनै पनि म्यानपावर कम्पनीलाई सदस्यताबाटै हटाउने कडा चेतावनी समेत दिएको छ। यसका साथै संघले इजाजतपत्र प्राप्त सबै संस्थालाई श्रमिकको विदेश उडान पूर्ण रूपमा बन्द गर्न औपचारिक आह्वान गरेको छ।
यो आन्दोलनको प्रत्यक्ष असर हजारौं कामदारमा परेको छ, जसमध्ये धेरैले पहिले नै भिसा र श्रम स्वीकृति पाइसकेका बाबजुद हाल उड्न नपाइरहेका छन्। विश्लेषकहरूका अनुसार वैदेशिक रोजगार नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने र मुलुकमा भित्रिने रेमिट्यान्सको ठूलो हिस्सा यसैबाट आउने भएकाले यस्तो लामो अवरोधले नयाँ श्रमिक पठाउने प्रक्रिया थप सुस्ताउने र देशको समग्र श्रम बजारमा दीर्घकालीन असर पर्ने चिन्ता व्यक्त गरिएको छ।
हाल सरकार र मेनपावर व्यवसायी संघबीच माग सम्बोधनका विषयमा औपचारिक वार्ता नभएको र आन्दोलन कहिलेसम्म जारी रहने भन्नेबारे स्पष्ट संकेत नआएको अवस्थामा हजारौं कामदार र तिनका परिवार अन्योलमा परेका छन्।
