Sep 18 2026 | २०८३, असोज २ गते

हेटौंडा सवारी आवागमनका लागि नयाँ रुट निर्धारण, आउने र जाने बाटो फरक हुने

हेटौंडा सवारी आवागमनका लागि नयाँ रुट निर्धारण, आउने र जाने बाटो फरक हुने

आउने र जाने बाटो फरक हुने

मंगलबार, भदौ १६ २०८३
मंगलबार, भदौ १६ २०८३
  • हेटौंडा सवारी आवागमनका लागि नयाँ रुट निर्धारण, आउने र जाने बाटो फरक हुने

    काठमाडौं, भदौ १६ — भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी र लगातारको वर्षाका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि प्रहरी प्रधान कार्यालयले काठमाडौं–हेटौंडा खण्डमा चल्ने सवारीसाधनका लागि आजैदेखि लागू हुने गरी नयाँ रुट व्यवस्था तोकेको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गरी बाटो पूर्ण रूपमा भासिएपछि उक्त खण्डबाट हुने आवागमन पूर्णतः अवरुद्ध भएको थियो, जसका कारण वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको हेटौंडा हुँदैको सडकमा सवारी चाप उल्लेख्य रूपमा बढेको थियो।

    नयाँ व्यवस्थाअनुसार दश चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन हेटौंडाबाट काठमाडौं जाँदा त्रिभुवन राजपथ प्रयोग गर्नुपर्नेछ, जबकि काठमाडौंबाट हेटौंडा फर्किंदा भने कान्ति राजमार्ग हुँदै जानुपर्नेछ। यसरी आउने र जाने बाटो फरक-फरक तोकिनुको मुख्य कारण मकवानपुरको त्रिभुवन राजपथ नजिकै रहेको एक बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले हो।

    यही कारणले गर्दा इन्धन ट्यांकर तथा भारी मालवाहक सवारीसाधनलाई सो बेलिब्रिज प्रयोग नगरी छेउमै रहेको वैकल्पिक डाइभर्सन मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ।

    साना यात्रुवाहक सवारीसाधन, अर्थात् १४ सिटभन्दा कम क्षमता भएका सवारीका लागि भने बेग्लै रुट तोकिएको छ। काठमाडौंबाट हेटौंडातर्फ आउने यस्ता सवारीले फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदीतर्फ आउने बाटो प्रयोग गर्नुपर्नेछ। मकवानपुर जिल्ला प्रशासन कार्यालयका अनुसार यो व्यवस्था आजैदेखि अर्थात् भदौ १६ गतेदेखि नै लागू हुनेछ।

    प्रहरी प्रधान कार्यालयले हाल मुलुक विपद्जन्य अवस्थाबाट गुज्रिरहेकाले नागरिकलाई अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न आग्रह गरेको छ। साथै सवारी चालकहरूलाई धैर्य र अनुशासनका साथ आ-आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्ने, ओभरटेक नगर्ने र सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्ने अनुरोध गरिएको छ।

    प्रशासनका अनुसार यस नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने लामो सवारी जाम र यात्रुहरूले भोगिरहेको दुर्भोगको अन्त्य हुने विश्वास लिइएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट