भारत, चीन, अमेरिका सबैको प्राथमिकतामा लामिछाने
भारत, चीन, अमेरिका सबैको प्राथमिकतामा लामिछाने
काठमाडौं — भारत, चीन, अमेरिकाजस्ता शक्तिराष्ट्रहरूको कूटनीतिक रोजाइमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने देखिएका छन्। प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन शाहसँग ती देशका राजदूतहरूको संवाद सुरु भए पनि उच्च तहको कुराकानीमा पार्टी सभापति लामिछाने बढ्ता सक्रिय देखिएका हुन्।
सोमबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सभापति लामिछानेसँग टेलिफोन वार्ताक्रममा रसुवा बाढीले पुर्याएको अथाह क्षतिप्रति दुःख व्यक्त गरे। रास्वपा स्रोतका अनुसार अमेरिकी विदेशमन्त्रीले नेपाललाई अमेरिकी सहयोग प्राथमिकतापूर्वक निरन्तर रहने आश्वासन दिएका छन्। रास्वपा सभापति लामिछानेले अमेरिकी सरकारलाई नेपालको क्षति अनि यसले ल्याएको कठिन घडीप्रति दुःख व्यक्त गरेकामा आभार व्यक्त गरेका छन्।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेठ २० गते लामिछानेलाई नयाँ दिल्लीमा निमन्त्रणा गरेर भेटवार्ता गरेका थिए। लामिछानेले आफ्नो पार्टीको तर्फबाट प्रतिनिधिमण्डलसहित भारतीय प्रधानमन्त्री मोदी, सत्तारूढ भाजपाका शीर्ष नेताहरूसँग संवाद गरेका थिए। लामिछानेको भ्रमणलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालको भ्रमण भएको थियो।
चिनियाँ पक्षले पनि लामिछानेलाई अगस्टमा भ्रमण गर्न निमन्त्रणा गरेको थियो। लामिछानेले आन्तरिक कारण देखाउँदै यसलाई सेप्टेम्बर दोस्रो साताका लागि सारेका थिए, तर भोटेकोशीको बाढी तथा अन्य कारणले उक्त भ्रमण हाल स्थगित छ। रास्वपा स्रोतका अनुसार उपयुक्त समयमा, सम्भवतः छिट्टै उक्त भ्रमण सम्पन्न हुनेछ।
कूटनीति अध्येता तथा पत्रकार सुधीर शर्मा रास्वपा सभापति लामिछानेले पाएको यो महत्वलाई शक्तिराष्ट्रहरूको स्वाभाविक सम्बन्ध राख्ने चरित्रसँग दाँजेर विश्लेषण गर्छन्। "अमेरिकामात्रै होइन, अरू मुख्य शक्तिराष्ट्रहरूले कूटनीतिक प्रोटोकलभन्दा बढ्ता सम्पर्क पहुँच, अनि शक्ति कतापट्टि छ भन्ने आधारमा कुराकानी गर्नेगरेको देखिन्छ," पत्रकार शर्माले भने, "प्रधानमन्त्री शाह सहजै उपलब्ध हुनुहुन्न। अनि छिट्टै राष्ट्रसंघ महासभामा जाने कुरा पनि छ।"
यसअघि फागुनको चुनावमा रास्वपाको विशाल विजयलगत्तै भारतीय प्रधानमन्त्री मोदीले बालेनसँगै लामिछानेसँग पनि कुरा गरेका थिए। अरू कतिपय देशहरूले पनि सभापति लामिछानेलाई महत्व दिएर संवाद अघि बढाइरहेको बुझिएको छ।