बाढीले भत्कायो जीवनरेखा: दोधारा–चाँदनी पुल मर्मतको पर्खाइमा
बाढीले भत्कायो जीवनरेखा: दोधारा–चाँदनी पुल मर्मतको पर्खाइमा
दोधारा–चाँदनी पुल मर्मतको पर्खाइमा
कञ्चनपुरको महाकाली नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएपछि आवागमन पूर्ण रूपमा ठप्प भएको छ। भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिकालाई जोड्ने यो पुल दुई दशकअघि बनेपछि दोधारा–चाँदनी भौगोलिक रूपमा मुलुकको मूलधारसँग जोडिएको थियो, तर हाल यो महत्वपूर्ण पूर्वाधार नै क्षतिग्रस्त अवस्थामा छ।
असोज ९ गतेदेखि निरन्तर परिरहेको वर्षा सोमबार नै थामिए पनि मंगलबार बिहान मौसम सफा छँदाछँदै पुलको पिल्लर पानीको बेगका कारण भत्किएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार दोधारातर्फको पाँच–छ मिटरबीचको भाग माथि उठेर पिल्लर नै भाँचिएपछि बाटो अवरुद्ध भएको हो। हाल सो क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ।
समयमै आवागमन रोकिएकाले ठूलो मानवीय क्षति हुनबाट भने जोगिएको छ। जीर्ण हुँदै गएको यो पुल बेला–बेलामा मर्मत गर्दै आइए पनि यसपटक बाढीले नै मुख्य क्षति पुर्याएको अनुमान गरिएको छ।
अध्ययन र पुनर्निर्माणको तयारी
घटनापछि प्राविधिक टोलीले स्थलगत अध्ययन सुरु गरिसकेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार प्राविधिक रूपमा क्षतिको पूर्ण विवरण आएपछि मात्र थप कदम चालिनेछ। महाकालीमा तैरिरहेको पुलको लठ्ठा सुरक्षित रूपमा निकाल्न सकिने अवस्था भए त्यसो गर्ने योजना रहेको उनले बताए।
यस क्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको टोली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयसहित भत्किएको पुल अनुगमनका लागि घटनास्थल पुगेको छ। पुल सङ्घीय सरकारको क्षेत्राधिकारमा रहे पनि प्रदेश सरकारले पुनर्निर्माणका लागि आवश्यक समन्वय तथा प्राविधिक अध्ययन अघि बढाएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जनाएका छन्। मन्त्री रावलका अनुसार पुल भत्किँदा दोधारा–चाँदनी क्षेत्रको पर्यटन पूर्वाधारमा समेत क्षति पुगेको छ र स्थानीय बासिन्दा सबैभन्दा बढी प्रभावित भएका छन्।
कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पनि पुल पुनर्निर्माणका लागि समन्वय भइरहेको सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका छन्। प्रारम्भिक क्षति हेर्दा पुल पुनर्निर्माण गरी आवागमन पूर्ण सुचारु गर्न भने केही समय लाग्ने देखिएको छ — ठ्याक्कै कति दिनमा मर्मत सम्पन्न हुने भन्ने अझै टुंगो भएको छैन।
