प्रचण्डको असन्तुष्टि: बालेन सरकार जवाफदेही देखिएन
प्रचण्डको असन्तुष्टि: बालेन सरकार जवाफदेही देखिएन
नेकपाको संसदीय दलको बैठकमा सरकारको ६ महिनाको समीक्षा; रास्वपाभित्रको अन्तर्विरोधले सरकार पूरा कार्यकाल नचल्ने निष्कर्ष
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन्। बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सङ्घीय संसदीय दलको बैठकमा उनले सरकारको ६ महिनाको समीक्षा गर्दै यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्।
बैठकमा प्रचण्डले सरकारको पारदर्शितामाथि प्रश्न उठाएका थिए। संसद्प्रति सरकार जवाफदेही नदेखिएको भन्दै उनले यसको रहस्य के होला भनी जिज्ञासा राखेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए। दुलालका अनुसार प्रचण्डले वर्तमान सरकार ठिक ढङ्गले अगाडि बढ्न नसकेको बताउँदै ६ महिनामा गरिएका काम कारबाहीको समीक्षा गरेका थिए। तर रास्वपाको आन्तरिक विषयमा भने उनले केही बोलेनन्।
समसामयिक राजनीतिक घटनाक्रमको समीक्षासँगै बैठकमा संसद्को हालसम्मको प्रभावकारिता, जनसरोकारका विषयमा पार्टीको भूमिका र कानुन निर्माणमा समितिहरूले खेलेको भूमिकाबारे छलफल भएको दुलालले बताए। संसद्मा आगामी दिनमा खेल्नुपर्ने भूमिका, सङ्गठन सुदृढीकरण र आगामी स्थानीय तह निर्वाचनको तयारीबारे पनि विस्तृत छलफल भएको उनको भनाइ छ। बैठकले प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणका लागि दलको तर्फबाट प्रभावकारी भूमिका खेल्ने निर्णय गरेको छ। संसद् अधिवेशन सकिएसँगै प्रचण्डले सांसदहरूलाई आआफ्ना निर्वाचन क्षेत्रमा केन्द्रित हुन निर्देशन दिएका छन्।
बैठकमा सहभागी रुकुम (पश्चिम) बाट निर्वाचित सांसद गोपाल शर्माका अनुसार प्रधानमन्त्री शाहले सत्तापक्षकै सांसदलाई बाइपास गरेर अघि बढेको विषयमा बैठकमा सामान्य छलफल भयो। दुई तिहाइ नजिकको सरकार पनि पूरा कार्यकाल नचल्ने प्रसङ्ग प्रचण्डले उठाएको बताउँदै उनले रास्वपाभित्र सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबिचको अन्तर्विरोधलाई त्यसको मुख्य आधार मानिएको स्पष्ट पारे। वर्तमान सरकारको कार्यशैलीबाट विपक्षी मात्र होइन, सत्तापक्षका सांसद पनि सन्तुष्ट नदेखिएको र राष्ट्रियता तथा जनजीविकाजस्ता विषयमा जनस्तरमै असन्तुष्टि बढ्दै गएको उनको दाबी छ।
यद्यपि, रास्वपाभित्रको अन्तर्विरोध उनीहरूकै आन्तरिक मामिला भएको र सभापति लामिछानेसँग नजिक वा प्रधानमन्त्री शाहसँग टाढा रहने नीति आफ्नो पार्टीले नलिएको सांसद शर्माले बताए। प्रधानमन्त्रीलाई एक्ल्याउन लामिछानेसँग भित्रभित्रै साँठगाँठ भएको आशङ्का निराधार भएको उनको भनाइ छ। तर प्रधानमन्त्रीले पार्टीभित्रै एक पक्षलाई बाइपास गरेर अघि बढ्दा अन्ततः दुर्घटना निम्त्याउने आफ्नो बुझाइ रहेको उनले बताए। २०४८ यताको राजनीतिक घटनाक्रम हेर्दा नेपालमा कुनै पनि सरकारले पूरा कार्यकाल चलाउन नसकेको तर्क उनले गरे।
सुरुवाती चरणमा बालेन सरकारप्रति सकारात्मक देखिएका प्रचण्ड पछिल्लो समय आक्रामक बनेका छन्। पार्टीको आन्तरिक बैठक र प्रशिक्षणदेखि सार्वजनिक कार्यक्रम र संसद्को बैठकसम्म उनी सरकारको कार्यशैलीको निरन्तर आलोचना गरिरहेका छन्। बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरे आलोचना गर्ने पार्टीको अडान दोहोर्याए। सरकारले ६ महिनामा केही पनि राम्रो नगरेको भन्ने पक्षमा आफू नरहेको तर समग्रमा सरकार ठिक दिशातर्फ नगइरहेको उनको भनाइ थियो।
