कागबेनी गुमनाम, बेनी-जोमसोम सडक अझै अवरुद्ध
कागबेनी गुमनाम, बेनी-जोमसोम सडक अझै अवरुद्ध
बेनी-जोमसोम सडक अझै अवरुद्ध
काठमाडौं — नेपाल र चीनबीच खुला रहेको कोरला नाका जोड्ने बेनी-जोमसोम सडक अझै एक साता नखुल्ने भएको छ। असोज ८ देखि ११ गतेसम्मको निरन्तरको वर्षापछि आएको बाढीपहिरोले मालढुंगादेखि घाँसासम्म करिब ५० किलोमिटर दूरीमा ४६ भन्दा बढी ठाउँमा सडक अवरुद्ध बनाएको थियो।
सडक विभागका अनुसार मालढुंगा–बेनी–जोमसोम–कोरला सडकखण्डको घासा–कोरला खण्डमा भने सडक दुईतर्फी सुरु भइसकेको छ। तातोपानी क्षेत्रमा कटानको 'ब्याक कटिङ' र 'टेवा पर्खाल' (गेबियन वाल) लगाई त्यहाँको यातायात सुरु गरिएको विभागले जनाएको छ। राहुघाटदेखि सिरुबारीसम्म एकतर्फी सडक खुलाइएको छ भने पोखरेबगर नजिकैको रातोपानी खण्डमा समेत ट्र्याक खुलाइएको छ। कुनेटो भन्ने स्थानमा 'क्याकफिलिङ' गर्ने काम जारी छ।
मर्मत कार्यमा राहुघाट जलविद्युत् आयोजनाले सिर्जना गरेको अवरोध एउटा मुख्य चुनौती बनेको थियो। आयोजनाले आफ्नो संरचनातर्फ 'ग्यान टी टावर' नहटाउँदा सडक विभागका उपकरणहरू लगातार तीन दिनसम्म ठप्प भएका थिए, जसले मर्मत कार्यलाई पछाडि धकेलेको थियो। यसैसँगै मर्मत कार्यमा खटिएका उपकरणहरूका लागि इन्धन अभाव पनि अर्को प्रमुख समस्याका रूपमा देखा परेको छ, जसलाई समाधान गर्न नजिकैका जलविद्युत् आयोजनाहरूसँग इन्धन सापटी मागिएको छ।
विभागले आजबाट मुख्य कटान तथा पहिरोग्रस्त क्षेत्रमा काम सुरु हुने जनाएको छ। समग्रमा यो खण्ड पुनः सञ्चालनमा आउन अझै करिब ६ दिन लाग्ने विभागको अनुमान छ। रसुवा र तातोपानी नाका पहिल्यैदेखि बन्द रहेको अवस्थामा चीनसँगको व्यापारका लागि एकमात्र विकल्प बनेको कोरला नाका जोड्ने यो सडक छिट्टै सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकता दिएको छ।
यसैबीच सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल कागबेनीधाममा श्राद्ध गर्न आउने तीर्थालुको संख्या शून्यप्रायः बनेको छ, जसले स्थानीय पर्यटन व्यवसायलाई समेत गम्भीर असर पुर्याएको छ।
