गभर्नर नियुक्तिमा चलखेल भयो, सरकार सेटिङमा लाग्यो : स्वर्णिम वाग्ले
गभर्नर नियुक्तिमा चलखेल भयो, सरकार सेटिङमा लाग्यो : स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा। स्वर्णिम वाग्लेले गभर्नर नियुक्तिमा सरकारले राजनीतिक चलखेल गरिरहेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्र बैंकको गभर्नर पद दुई महिनादेखि रिक्त रहनु सरकारको नियतकै प्रतिबिम्ब भएको दाबी गरे ।
‘सानो एउटा राष्ट्र बैंकको नियुक्तिमा पनि दुई महिनादेखि अल्झिएको छ,’ वाग्लेले भने, ‘माथि सेटिङ गरेर समिति बसाइन्छ, अनि एउटा रबर स्ट्याम्प नियुक्ति हुन्छ जस्तो देखिन्छ ।’
सरकार सेटिङ र भागबण्डाको आधारमा निर्णय गर्ने प्रवृत्तिमा रमाइरहेको आरोप लगाउँदै उनले गभर्नर सिफारिस समितिले योग्य र स्वतन्त्र व्यक्तित्व छनोट गर्ने सम्भावना कम भएको धारणा राखे । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि भएको प्रतिनिधिसभा बैठकमा उनले समग्र निर्णय प्रक्रियामै पारदर्शिता र जवाफदेहिताको अभाव देखिएको टिप्पणी गरे ।
