सम्पर्कविहीन मनाङ: संसदमा सांसद गुरुङले सुनाए भयावह अवस्था
सम्पर्कविहीन मनाङ: संसदमा सांसद गुरुङले सुनाए भयावह अवस्था
संसदमा सांसद गुरुङले सुनाए भयावह अवस्था
काठमाडौं — नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले अविरल वर्षाका कारण मनाङ जिल्लामा पुगेको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले मनाङको भौगोलिक विकटता र बाढी–पहिरोले निम्त्याएको मानवीय तथा भौतिक सङ्कटबारे जानकारी दिए।
गुरुङका अनुसार असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाले मनाङको जनजीवन अस्तव्यस्त बनाएको छ। सदरमुकाम चामे क्षेत्रका आधा दर्जनभन्दा बढी घर बाढीले बगाएको छ। मर्स्याङ्दी नदीको बहावका कारण मनाङ जोड्ने मुख्य राजमार्ग र मोटरबेल पुल डुबानमा परेको छ।
"मर्स्याङ्दी नदी थुनिएर मनाङ जाने बाटो अवरुद्ध भएको छ। तातोपानीको आसपासमा रहेका घरहरू डुबानमा परेपछि स्थानीय बासिन्दालाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ," सांसद गुरुङले भने। उनले नासोङ गाउँपालिकाका डेढ दर्जनभन्दा बढी घरमा मर्स्याङ्दी नदीले क्षति पुर्याएको र दर्जनौं पुलपुलेसा बगाउँदा आवतजावत ठप्प भएको बताए।
जिल्लामा सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भइरहेको गुनासो गर्दै उनले भने, "निसाङ र नार्पाभूमि गाउँपालिकामा विद्युत् र टेलिफोन सेवा सुचारु हुन नसक्दा त्यहाँका जनतासँग सम्पर्क विच्छेद भएको छ। हिमाल चढ्ने तयारीमा रहेका र हिमालबाट फर्किएका २७ जना नेपाली पर्यटकहरूमध्ये दुई जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। ११ जना सम्पर्कमा आएका छन् भने १४ जना अझै सम्पर्कविहीन छन्।"
सडक र पदमार्ग अवरुद्ध हुँदा आन्तरिक तथा बाह्य पर्यटक मनाङका विभिन्न स्थानमा अलपत्र परेका छन्। "बाटोघाटो र पुलपुलेसा बिग्रिएकाले सयौं पर्यटक अलपत्र छन्। यसले मनाङको पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्रमा गम्भीर असर पुर्याएको छ," उनले भने।
यसैबीच बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक पूर्ण सञ्चालनमा आउन एक साताभन्दा बढी लाग्ने अनुमान गरिएको छ।
