इसेवाको कमान निरज शर्माको हातमा, चार वर्षका लागि नयाँ सीईओ नियुक्त
इसेवाको कमान निरज शर्माको हातमा, चार वर्षका लागि नयाँ सीईओ नियुक्त
बैंकिङ क्षेत्रमा अढाई दशकभन्दा लामो अनुभव बटुलेका नबिल बैंकका पूर्वअधिकारी अब डिजिटल भुक्तानी कम्पनीको नेतृत्वमा
काठमाडौँ । डिजिटल भुक्तानी सेवामा अग्रणी मानिने इसेवा लिमिटेडले निरज शर्मालाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षका लागि जिम्मेवारी दिने निर्णय गरेको थियो, जुन सोमबारदेखि लागू भएको छ। शर्माले आजैदेखि कार्यभार सम्हालिसकेका छन्।
यसअघि कम्पनीको नेतृत्व सम्हालेका जगदीश खड्काको चार वर्षे कार्यकाल असोज ९ गते सकिएको थियो। त्यसपछि रिक्त भएको पदमा नबिल बैंकको उच्च व्यवस्थापकीय जिम्मेवारीबाट बिदा लिएका शर्मालाई ल्याइएको हो।
बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढी काम गरेका शर्माको विशेषज्ञता ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण र रिटेल बैंकिङमा रहेको छ। डिजिटल प्रविधिमा आधारित नयाँ पहल, व्यावसायिक विस्तारको रणनीति र ग्राहकको आवश्यकतामा केन्द्रित सेवा विकासमा पनि उनले काम गरिसकेका छन्। कम्पनीले उनको अनुभवले पुराना उपलब्धिलाई निरन्तरता दिँदै इसेवाको आगामी यात्रा अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ। नियुक्तिपछि शर्माले इसेवालाई बजारको शीर्ष स्थानमै कायम राख्नु र गुणस्तरीय सेवालाई निरन्तरता दिनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।
