बिनाकारण पक्राउको क्रम रोक्नुस्, प्रचण्डको सरकारलाई आग्रह
बिनाकारण पक्राउको क्रम रोक्नुस्, प्रचण्डको सरकारलाई आग्रह
प्रचण्डको सरकारलाई आग्रह
काठमाडौं, १२ असोज — नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिना कारण विशिष्ट व्यक्ति (भीआईपी)हरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
सोमबार संघीय संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेकोप्रति आपत्ति जनाए। "छोरी पिटेर बुहारी तर्साउन खोजेको" जस्तो नियत सरकारको हो भने त्यो सरकारकै लागि घातक हुने र यसको मूल्य धेरै ठूलो चुकाउनुपर्ने उनले बताए। साथै उनले सरकारलाई यस्ता घटना नदोहोर्याउन आग्रह गरे।
सुरक्षा थ्रेट भनिएको विषय सामान्य मानिसले पनि बुझ्ने खालको बहानाबाजी मात्र भएको उनको भनाइ थियो। यदि साँच्चै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनुपर्ने उनको तर्क छ।
यसैबीच, नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले पनि पूर्वप्रधानन्यायाधीश जबराको मध्यरातमा भएको गिरफ्तारीलाई "राज्य आतंकको बर्बर नमुना" भन्दै विरोध गरेका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाहले दिएको सम्बोधनबारे प्रतिक्रिया दिँदै प्रचण्डले प्रधानमन्त्रीले अहिले जे बोल्नुपर्थ्यो त्यही लाइनमा बोलेको र त्यो स्वाभाविक रहेको बताए। यस विषयलाई लिएर अनावश्यक बढाइचढाइ गर्न जरुरी नरहेको भन्दै उनले प्रधानमन्त्री बालेनको ठाउँमा अरू जो भए पनि त्यही कुरा बोल्ने धारणा राखे।
