images

Sep 29 2026 | २०८३, असोज १३ गते

पर्यटन विकासका लागि निकायबिच समन्वय अपरिहार्य: मन्त्री पौडेल

पर्यटन विकासका लागि निकायबिच समन्वय अपरिहार्य: मन्त्री पौडेल

विश्व पर्यटन दिवसमा सरकारी संस्थाको क्षमता वृद्धि र निजी क्षेत्रसँग सहकार्यमा जोड, तीन गाउँ ‘वर्ष गन्तव्य गाउँ’ घोषित

सोमबार, असोज १२ २०८३
सोमबार, असोज १२ २०८३
  • पर्यटन विकासका लागि निकायबिच समन्वय अपरिहार्य: मन्त्री पौडेल

    काठमाडौँ, ११ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको पर्यटन क्षेत्रलाई प्रभावकारी ढंगले अघि बढाउन विभिन्न मन्त्रालयबिच समन्वय आवश्यक रहेको बताएका छन्। मन्त्रालयले ४७औँ विश्व पर्यटन दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी संस्थाको क्षमता बढाउने र निजी क्षेत्रसँग निरन्तर सहकार्य गर्ने विषयमा पनि जोड दिए।

    पर्यटन विकास एउटै मन्त्रालयको प्रयासले सम्भव नहुने भएकाले सरकारका विभिन्न निकायबिच प्रभावकारी समन्वयका लागि आफूले लगातार पहल गर्दै आएको मन्त्री पौडेलले बताए। पर्यटनसँग सम्बन्धित सरकारी संस्थाको क्षमता अभिवृद्धि गर्ने योजना सरकारसँग रहेको उल्लेख गर्दै उनले पर्यटनको बदलिँदो स्वरूपअनुसार संस्थागत क्षमता र सेवा प्रवाहलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए।

    नेपालको मौलिक संस्कृति, परम्परा र समुदायमा आधारित जात्रा तथा पर्वहरू पर्यटनका महत्त्वपूर्ण आधार भएको उनको भनाइ थियो। पुस्तौँदेखि चलिआएका जीवन्त सामुदायिक जात्रा र सांस्कृतिक गतिविधिको संरक्षण तथा प्रवर्द्धनलाई पर्यटन विकाससँग जोड्नुपर्ने उनले बताए। हिमालयलाई नेपालको मात्र नभई सिङ्गो क्षेत्रकै पवित्र प्राकृतिक सम्पदाका रूपमा चिनाउँदै उनले हिमालबाट निस्कने नदीले करोडौँ मानिसको जीविकोपार्जनमा योगदान पुर्‍याइरहेको उल्लेख गरे। हिमाली सम्पदाको संरक्षणसँगै दिगो पर्यटनका रूपमा त्यसको उपयोगमा पनि ध्यान दिनुपर्ने उनको सुझाव थियो। साथै, अहिलेका कानुन र नियमावलीमा देखिएका कमजोरी सुधार्न निजी क्षेत्रले दिने सुझाव र प्रतिक्रिया सरकारका लागि महत्त्वपूर्ण हुने उनले बताए।

    कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष पन्तले भोटेकोशी बाढीले पर्यटन क्षेत्रलाई दिएको गम्भीर पाठलाई डिजिटल प्रविधिको प्रयोगसँग जोडेर हेर्नुपर्ने बताए। हालैको बाढीले लाङटाङ जाने नियमित पहुँचमार्ग र आवास सुविधामा क्षति पुर्‍याउँदा पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै उनले सुरक्षित पूर्वाधार, समयमै सूचना, वैकल्पिक पहुँचमार्ग र प्रभावकारी विपद् तयारी अब विकल्प नभई अनिवार्य आवश्यकता बनेको बताए।

    पाटा फाउन्डेसनका अध्यक्ष एन्ड्रयू जोन्सले भोटेकोशी बाढीपछि नेपालको पर्यटन पुनरुत्थानका लागि फाउन्डेसनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। प्रकृतिमा आधारित पर्यटनलाई सहयोग गर्न एआई र डिजिटल मिडियाको भूमिका झन् महत्त्वपूर्ण बन्दै गएको उनको भनाइ थियो।

    राष्ट्रिय योजना आयोगका सदस्य प्राडा सञ्जय आचार्य, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदास, सोही समितिकी सदस्य अनुष्का श्रेष्ठ, सांसदद्वय डा. अर्जुनकुमार कार्की र मिङ्मा ग्याबु शेर्पालगायतले पनि विचार राखे। उनीहरूले पर्यटनमा प्रविधिको प्रयोग, रोजगारीको संरक्षण, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सुदृढीकरण र पर्यटकलाई प्रमाणित तथा विश्वसनीय सूचना उपलब्ध गराउने विषयमा जोड दिए।

    सोही अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले तीन गाउँलाई ‘वर्ष गन्तव्य गाउँ’ घोषणा गरेको थियो। मन्त्री पौडेलले घोषित गाउँका प्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरे। ग्रामीण पर्यटन, स्थानीय संस्कृति र समुदायलाई पर्यटनको मूल प्रवाहसँग जोड्ने उद्देश्यले यस्तो पहल गरिएको बोर्डले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट