तीन दिनको परामर्शपछि रणनीति सार्वजनिक गर्दै विद्या भण्डारी
तीन दिनको परामर्शपछि रणनीति सार्वजनिक गर्दै विद्या भण्डारी
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै छिन् । अपराह्न तीन बजे थापाथलीस्थित कार्की बैंक्वेट पत्रकारहरूलाई बोलाइएको छ ।
एमालेमा फर्किने घोषणा गरेकी उनलाई पार्टीले रोक लगाउने निर्णय गरेपछि आयोजना गर्न लागेको पत्रकार सम्मेलनमार्फत केही विशेष घोषणा हुनसक्ने सम्भावना छ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार केन्द्रीय समितिको निर्णयपछि भोलिपल्टै धारणा सार्वजनिक गर्ने तयारी थियो, तर केही प्राविधिक कारणले गर्दा रोकिएकोमा आजका लागि तय भएको हो ।
पूर्व राष्ट्रपतिले केही महत्वपूर्ण घोषणा गर्न लाग्नुभएको हो ? भन्ने प्रश्नमा उनले प्रष्ट जवाफ दिइनन् । आफू गृहजिल्ला चितवनमा रहेकाले यसबारे भण्डारीसँग कुराकानी हुन नपाएको पाण्डेको भनाइ छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुरुप केन्द्रीय कमिटी बैठकले राजनीतिमा रोक लगाउने निर्णय गरेपछि भण्डारी आफू निकट नेताहरूसँग आन्तरिक छलफलमै छन् । स्रोतका अनुसार मंगलबार राति केन्द्रीय कमिटी बैठाकको निर्णय सार्वजनिक भएलगत्तै उनले कानुनविद् र राजनीतिक विश्लेषकहरुलाई समेत राखेर निकटहरूसँग परामर्श गरेका थिए ।
यस्ता छलफलमा सहभागी अधिकांशले सोचविचारका साथ दृढतापूर्वक अघि बढ्न सुजाव दिने गरेको बताइन्छ । निकट एक नेता भन्छन्, ‘उहाँलाई कानुनी हिसाबले आफ्नो यात्रा अघि बढाउन कुनै रोकतोक छैन, पार्टीभित्रकै प्रतिस्पर्धीसँग कसरी ट्याकल गर्ने भन्ने मात्र हो, त्यसबारे उहाँ विचार-विमर्शमै हुनुहुन्छ ।’
ती नेताका अनुसार भण्डारीले आज पार्टीभित्र उत्पन्न पछिल्लो अवस्था र आफ्नो भूमिकाबारे बोल्नेछन् ।
