अर्को सरकार बन्ने विकल्प छैन, सम्झौता अनुसार सरकार जान्छ : नेता सिटौला
अर्को सरकार बन्ने विकल्प छैन, सम्झौता अनुसार सरकार जान्छ : नेता सिटौला
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्। आइतबार काठमाडौँमा पत्रकारसँग कुरा गर्दै उनले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको बताएका हुन्।
नेता सिटौलाले सरकारको विकल्प पनि नरहेको बताए। उनले भने,‘जनताले सोचे अनुसार सरकारले काम गर्न सकेका छैनन्। सरकार पुरै कार्यकाल जान्छ। अर्को सरकार बन्ने विकल्प छैन। सम्झौता अनुसार सरकार जान्छ।’ नेता सिटौलाले संविधान संशोधन गर्नका लागि सरकारले कार्यदल बनाउनुपर्ने बताए। यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतले निर्णय गर्न सक्नेगरी संसदबाट पारित भएर गएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता गर्नेबारे नेता सिटौलाले भने,‘मलाई लागेको के हो भने संवैधानिक परिषद्ले पहिलो चरणमा सर्वसम्मतिले निर्णय गर्नुपर्छ। त्यसबेला बहाल रहेका सबै सदस्यहरू उपस्थित भएनन् भने सबै उपस्थित हुनुपर्छ र सर्वसम्मत निर्णय लिनुपर्छ भन्ने पहिलो हो विधेयकको मनसाय त्यही मैले बुझेको हो। दोस्रो सर्वसम्मत हुन सकेन र सबै सदस्य उपस्थित हुन सकेनन् भने के गर्ने भन्ने छ। दोस्रो पटक बैठक बोलाउँदा बहुमत उपस्थित भए भने बहुमतले निर्णय गर्नुपर्छ भन्ने हो।’
यस्तै नेता सिटौलाले कांग्रेसको महाधिवेशन २०८३ को दशैँको सेरोफेरोमा हुने बताए। उनले भने,‘नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८३ को दशैँ पछिसम्ममा हुनुपर्छ। किनभने महाधिवेशन अहिलेसम्म ५ वर्षमै हुँदै आएको छ। २०८३ मंसिर उता जानुभएन।’ उनले कांग्रेसले बागमतीका मुख्यमन्त्रीविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावले पार्टीमा क्षति पुग्ने बताए।
