प्रधानमन्त्री ओलीको टिप्पणी- चित्त नबुझे अधिनायकवाद भन्नेहरूलाई जेल हत्कडी थाहा नहुन सक्छ
प्रधानमन्त्री ओलीको टिप्पणी- चित्त नबुझे अधिनायकवाद भन्नेहरूलाई जेल हत्कडी थाहा नहुन सक्छ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायवाद कस्तो हुन्छ भनेर अहिलेको पुस्तालाई थाहा नभएको बताएका छन् ।
आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिनायकवाद कस्तो हुन्छ भने कुरा अहिलेको पुस्तालाई थाहा नभएको बताएका हुन् ।
'अहिले कुनै कुरामा चित्त बुझेन भने अधिनायकवादी भनिदिए पुग्छ । तर, अधिनायकवाद कस्तो हुन्छ भने त्यसबेला भोग्ने बीपी कोइरालाहरू र हामीहरूलाई थाहा छ । जेल हत्कडी र कालकोठरी भोग्नेहरूलाई थाहा हुन्छ,' उनले भने । प्रधानमन्त्री ओलीले अघिल्लो पुस्ताका बीपी कोइरालाहरूले संघर्षका लागि बाटो देखाएको पनि बताए । 'अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ । अघिल्लो पुस्ताका बीपी कोइरालाहरूले संघर्षका लागि बाटो देखाउनुभएको छ,' उनले भने ।
प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनका लागि कांग्रेस र कम्युनिस्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेको बताए । 'राजनीतिक परिवर्तनका लागि कांग्रेस र कम्युनिस्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेका छन् । यी लडाइँमा बीपी प्रेरणाको मियो हुनुहुन्थ्यो । अब बीपी कोइराला र पुष्पलालहरू कुनै दल विशेषका नेता होइनन्, देशकै नेता हुन्,' उनले भने ।
प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झण्डा बोक्दा आफ्नो निहित स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले बीपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट स्रष्टाहरू नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ 'वैरागी काइँला' र भुवन ढुंगाना कोइरालालाई जनही एक लाख राशिसहित पुरस्कृत गरेका थिए ।
