रवि लामिछानेको पक्षमा बुथमै गएर हस्ताक्षर गर्ने ३० लाखभन्दा बढी, घरमै गरिएको हस्ताक्षर गणना गर्न बाँकी
रवि लामिछानेको पक्षमा बुथमै गएर हस्ताक्षर गर्ने ३० लाखभन्दा बढी, घरमै गरिएको हस्ताक्षर गणना गर्न बाँकी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको दाबी गर्दै यसको विरोधमा सुरु गरेको हस्ताक्षर अभियानमा ठूलो संख्यामा मानिसहरूले लामिछानेप्रति ऐक्यबद्धता जनाएका छन् ।
रास्वपाले ७ असारमा पार्टी स्थापना दिवसका अवसरमा माइतीघर मण्डलाबाट हस्ताक्षर अभियान सुरु गरेको थियो । अभियान सुरु भएको १ महिना थप एक हप्ता पुग्दै गर्दा पार्टीले देशका विभिन्न स्थानमा स्थापना गरेका हस्ताक्षर संकलन बुथमै गएर रविको पक्षमा ऐक्यबद्धता जनाउनेहरू मात्रै ३० लाखभन्दा बढी भइसकेका छन् । यसबाहेक पार्टीले घरघरमै गएर पनि हस्ताक्षर संकलन गरिरहेको छ । घरबाटै ऐक्यबद्धता जनाउनेहरूको संख्या भने गणना गर्न बाँकी छ ।
पार्टीका नेता कार्यकर्ताहरू पार्टी सभापति लामिछानेले पार्टी स्थापना दिवसका अवसरमा जारी गरेको अपिल साथमा लिएर हस्ताक्षर संकलन अभियानमा खटिएका छन् । अभियानका संयोजक दीपक बोहराका अनुसार कलाकार, पूर्वन्यायाधीश, पूर्वप्रहरी, विभिन्न दलका नेता–कार्यकर्ता, जनप्रतिनिधि, राजनीतिज्ञ, नागरिक समाजका प्रतिनिधि, ट्याक्सीचालक, किरियापुत्री, दृष्टिविहीन, अपांग, युवादेखि वृद्धसम्म, सहकारीपीडित र आमनागरिकले अभियानमा सहभागिता जनाइरहेका छन् ।
बोहराका अनुसार ७७ वटै जिल्लाको वडा र टोलटोलमा अभियानमा चलिरहेको छ र हालसम्म १५ लाखभन्दा बढीले हस्ताक्षर गरिसकेका छन् । रास्वपाले हस्ताक्षर अभियान सुरुवातमा तीन महिनासम्म सञ्चालन गर्ने योजना बनाएको थियो । तर, आमनागरिकको उत्साहजनक सहभागिता देखिएपछि अभियानलाई दसैँ–तिहारसम्म लम्ब्याउने तयारी गरिएको छ ।
